हिमालयन डिष्टिलरीको मदिरा व्यापार खस्किएपछि प्रतिशेयर आम्दानीमा भारी गिरावट

Parmeshwor Adhikari
0
Shares

हिमालयन डिष्टिलरी (HDL) को मदिरा बिक्रीमा भारी मात्रामा गिरावट आएसँगै खुद नाफामा संकुचन आएको छ। अर्कातिर अघिल्लो आर्थिक वर्षको तुलनामा चुक्ता पूँजीमा भएको वृद्धिसँगै डिष्टिलरीको प्रतिशेयर आम्दानीमा फराकिलो अन्तरको संकुचन आएको छ ।

कोरोना भाइरस संक्रमणका कारण विश्व अर्थतन्त्र प्रभावित भईरहेका बेला डिष्टिलरीको व्यवसायमा पनि असर परेको हो।

लकडाउनका कारण मदिरा बिक्री वितरणका मुख्य बजार मानिएका होटल, रेष्टुराँ, बार, क्लब, पार्र्टी प्यालेस जस्ता क्षेत्रहरु सञ्चालनमा नआउँदा कम्पनीका उत्पादनहरुको बिक्री वितरण एवं खपतमा कमी आएको डिष्टिलरीले जनाएको छ ।

गत आर्थिक वर्ष २०७६/०७७ को चौथो त्रैमाससम्मा डिष्टिलरीले ४६ करोड ६० लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

अघिल्लो आर्थिक वर्षको यसै अवधिमा डिष्टीलरीले ५३ करोड ७० लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा डिष्टिलरीको खुद नाफामा ७ करोड ९ लाख अर्थात १३.२१ प्रतिशतको गिरावट आएको हो ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा डिष्टिलरीले मदिरा बिक्रीबाट २ अर्ब ३४ करोड ३ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा डिष्टिलरीले ३ अर्ब १२ करोड ८९ लाख रुपैयाँको मदिरा बिक्री गरेको थियो । समीक्षा अवधिमा डिष्टिलरीको मदिरा बिक्रीबाट हुने आम्दानी झण्डै २५ प्रतिशत अर्थात ७८ करोड ८५ लाख रुपैयाँले घटेको हो । जसका कारण डिष्टिलरीको खुद नाफामा समेत संकुचन आएको हो ।

डिष्टिलरीले अघिल्ले आर्थिक वर्षको आम्दानीबाट शेयरधनीलाई ५० प्रतिशत बोनस शेयर बितरण गरी चुक्तापूँजी ३८ करोड ५६ लाख ४५ हजार रुपैंयाबाट ५७ करोड ८४ लाख ६८ हजार रुपैयाँ पुर्याएको छ ।

पूँजी बढेका बेला खुद नाफामा आएको संकुचनले डिष्टिलरीको प्रतिशेयर आम्दानी समीक्षा अवधिमा १३९ रुपैयाँ २६ पैसाबाट घटेर ८० रुपैयाँ ५७ पैसा कायम भएको छ ।

समीक्षा अवधिमा ६० करोड २८ लाख ४१ हजार रुपैयाँको जगेडा कोषको आकार बढेर ६७ करोड ५२ लाख ७० हजार रुपैयाँ पुगेको डिष्टिलरीको प्रतिशेयर नेटवर्थ २५६ रुपैंया ३२ पैसाबाट २१६ रुपैयाँ ७३ पैसामा झरेको छ । दोस्रो बजारमा पछिल्ला दिनमा शेयर मूल्य बढेका कारण डिष्टिलरीको मूल्य आम्दानी अनुपात ९.६९ गुणाबाट बढेर १९.८५ गुणा बढी कायम भएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।