अफगानिस्तानको हेल्माण्ड प्रान्तका एकजना जिल्ला प्रमुखको बम हमला गरेर हत्या गरिएको समाचारमा जनाइएको छ । आइतबार भएको सो बम हमलामा परी अफगानिस्तानको हेल्माण्ड प्रान्तका जिल्ला प्रमुख नाकिबुल्लाह रोशनको ज्यान गएको हो ।
हेल्माण्ड प्रान्तका प्रान्तीय गभर्नर ओमार जवाकले उक्त कुराको जानकारी गराउनुभएको छ । गभर्नर जवाकले तालिबानीहरुले गरेका बम आक्रमणमा परी उनको ज्यान गएको जानकारी दिए । रोशन उक्त प्रान्तको लस्कर ए गाह जिल्लाका एक लोकप्रिय नेता पनि रहेको जानकारी गराइएको छ ।
प्रान्तीय गभर्नर जवाकले उक्त जिल्लामा रहेका अर्का कानुनी अधिकारी पनि नराम्ररी घाइते भएको जानकारी यहाँका स्थानीय सञ्चारमाध्यमहरुलाई दिएका छन् । पछिल्ला केही दिनहरुमा उक्त क्षेत्रमा तालिबानीहरुले बम हमलाका घटनाहरु गराइरहेका छन् ।
अफगान सरकार र तालिबानीहरुकाबीचमा कतारको दोहामा हालै वार्ता शुरु भएको बताइएको थियो । तर यता अफगानिस्तानमा भने तालिबानीहरुले भने हिंसात्मक हमलाहरु जारी नै राखेका छन् ।
राष्ट्रसंघीय महासचिवद्धारा कारबम हमलाको निन्दा
संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले अफगानिस्तानमा भएको कारबम हमलाको निन्दा गरेका छन् । अफगानिस्तानको नानगाहार प्रान्तको एक जिल्लामा रहेको सरकारी कार्यालय परिसर गएको शनिबार अपराह्न तालिबानी आत्मघाती लडाकूहरुले कारबम हमला गरेका थिए ।
त्यस कारबम आक्रमणमा परी कम्तीमा पनि १५ जनाको ज्यान गएको थियो भने अरु करिब ४२ जना नराम्ररी घाइते भएका थिए । अपरान्ह कार्यालय समयमा सेवा लिन गएका सर्वसाधाराण नागरिकहरुको भिडभाड रहेको मौका पारेर आत्मघातीहरुले नान्गाहार प्रान्तको जिल्ला प्रशासनिक कार्यालयमा सो बम हमला भएको थियो ।
त्यस क्रममा सरकारी काम लिन सो कार्यालयमा लाममा बसेका सर्वसाधारणको ज्यान गएको थियो । घाइते हुने पनि सेवा लिन त्यहाँ पुगेका सर्वसाधारण थिए । यसरी आफ्ना कामका लागि सरकारी कार्यालयमा पुगेका सर्वसाधारण नागरिकको हत्या गर्नु जघन्य अपराध हो भन्दै महासचिव गुटर्रेसले त्यस कार्यको कडा शब्दमा निन्दा गरेका छन् ।
महासचिव गुटर्रेसका प्रवक्ता स्टेफन डुजारिकद्धारा आइतबार जारी गरिएको विज्ञप्तिमा सो कुरा बताइएको छ । सो विज्ञप्तिमा महासचिव गुटर्रेसले यस जघन्य अपराधमा संलग्नहरुलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने पनि बताएका छन् ।
साथै उनले यस आक्रमणमा परी ज्यान गुमाएका परिवारका सदस्यहरुप्रति समवेदना व्यक्त गर्दै निधन भएकाहरुप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । महासचिव गुटर्रेसले सो बम हमलामा परी घाइते भएका सर्वसाधारण नागरिकको स्वास्थ्या लाभको कामना गरेका पनि उनका प्रवक्ता डुजारिकले प्रकाशन गरेका विज्ञप्तिमा उल्लेख छ ।
अफगान, तालिबानबीच प्रत्यक्ष वार्ता अझै भएन
कतारको दोहामा अफगान सरकार र तालिबानबीच अन्तर–अफगान औपचारिक संवाद शुरु भएको २२ दिन पुगे पनि दुबै पक्षबीच प्रत्यक्ष वार्ता अझै हुन सकेको छैन ।
दुबै पक्षका वार्ता टोलीले सातवटा सम्पर्क समूह बैठकहरु गरेका छन् तर यी बैठकमा दुईवटा विवादास्पद विषयमा सहमति हुन सकेको छैन । सम्पर्क समूहका बैठकहरु पनि विगत छ दिनदेखि बस्न सकेका छैनन् ।
तालिबान समूहले अमेरिका–तालिबानबीचको सम्झौतालाई मान्यता दिनुपर्ने तथा हनाफी न्यायप्रणालीलाई स्वीकार्नुपर्ने शर्तहरु अघि सारेको छ ।
तर, अफगान सरकारले भिन्न प्रस्ताव अघि सारेको छ । सरकारले कुनै धार्मिक कुरासँग सम्बन्धित विषय उठे त्यसलाई हनाफी न्यायप्रणालीबाट सम्बोधन गर्न सकिने जनाएको छ । शिया कानुन मुलुकभर समान ढंगबाट लागू हुने भएपनि धार्मिक अल्पसंख्यकका धार्मिक कानुनलाई पनि मान्यता दिनुपर्ने प्रस्ताव सरकारको छ ।
तालिबान सरकार र तालिबानबीच गत सेप्टेम्बर १२ देखि कतारको दोहामा शान्तिवार्ता जारी छ । यस वार्तामा दशकौं लामो गृहयुद्ध अन्त्य गर्ने उपायका बारेमा छलफल हुँदैछ । अफगान गृहयुद्धमा हालसम्म दशौं हजार नागरिकको ज्यान गइसकेको छ ।
वार्तामा ढिलाई भएपछि अमेरिकी र अन्य मुलुकहरुले सहमतिका लागि कुटनीतिक प्रयत्न जारी राखेका छन् । अमेरिकी विशेषदूत जाल्मे खलिलजाद गत साता दोहामा आएर दुबै पक्षका वार्ता टोलीसँग छलफल गरेका थिए ।
यसैबीच, नेटोका वरिष्ट प्रतिनिधि स्टेफानो पोन्टेकोर्भोले पनि वार्ता टोलीका संयोजक एवं सदस्यहरुसँग छलफल गरेका छन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया