सूर्या लाइफका संस्थापक विवेक झा भन्छन्, ‘फोर्स सेलिङ घटेन, कपी प्रोडक्टले बजार बढेन’

Parmeshwor Adhikari
0
Shares

सूर्या लाइफ इन्स्योरेन्सका संस्थापक विवेक झाले बीमा बजारको बिस्तार उत्साहजनक भईरहेको अवस्थामा पनि फोर्स सेलिङको अन्त्य हुन नसकेको बताएका छन् । नेपाल लाइफ इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी समेत रहेका झाले पछिल्लो दुई दशकमा बीमा क्षेत्रले फड्को पारे पनि फोर्स सेलिङको क्रम नरोकिएकाले बीमा बजारलाई स्वत:स्फूर्त बनाउन चुनौती थपिएको बताए ।

सूर्या लाइफ इन्स्योरेन्सको नयाँ बीमा योजना सूर्या चौरासी बीमा योजनाको उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै झाले नेपालमा बीमा व्यवसयाको शुरुवात भएको धेरै दशक भए पनि बीमा क्षेत्रमा परिवर्तन भने पछिल्लो २ दशकदेखि मात्र आएको बताए ।

व्यक्ति आफैँ गएर बीमा लिन सक्ने वातावरणको भने सृजना भई नसकेको उनको भनाई छ । “आज पनि धेरै मेहेनतका साथ मानिसलाई बीमामा सामेल गर्नुपर्ने अवस्था छ, अब बजारलाई स्वतस्पुर्थीको बाटोमा अघि बढाउने चुनौती थपिएको छ,” उनले भने ।

बीमा कम्पनीहरुले एकै किसिमको बीमा योजना ल्याउने र कपि प्रोडक्टमै निर्भर भईरहेको उनको भनाई छ । “कुनै कम्पनीले एउटा प्रोडक्ट ल्यायो भने त्यसकै पछि लाग्ने वातावारण नेपाली बीमा बजारमा छ । यसले पनि बजार विस्तारमा अपेक्षित नतिजा देखिएको छैन,” झाले भने, बीमा योजनाको नक्कल गर्ने परिपाटीको अन्त्य गरिनुपर्छ ।”

नाम फरक तर विशेषता उही भएका बीमा योजनाहरु पस्कनु भन्दा पनि मौलिकतामा आधारित योजना ल्याउनुपर्नेमा उनले जोड दिए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।