बुटवल पावरको नाफा घट्यो

0
Shares

बुटवल पावर कम्पनी (BPCL) को खुद नाफा ४८.८१ प्रतिशतले घटेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ४५ करोड ८६ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा कम्पनीले ८९ करोड ५९ लाख १ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ५१ करोड ११ लाख ६४ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आवको यसै अवधिमा विद्युत बिक्रीबाट ५५ करोड ७७ लाख ३२ हजार रुपैयाँ आम्दानी गरेको थियो । यस्तै वित्तीय खर्च ३८ प्रतिशतले बढेर १ करोड ५३ लाख रुपैयाँ पुगेको छ ।

खुद नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी उच्च घटेको छ । चुक्ता पूँजी २ अर्ब ९५ करोड १३ लाख ६१ हजार रुपैयाँ रहेको बुटवल पावरको प्रतिशेयर आम्दानी २३.७९ रुपैयाँले घटेर २०.७२ रुपैयाँमा संकुचित भएको छ ।

कम्पनीको जगेडा कोषमा ३ अर्ब ९९ करोड ९१ लाख ८१ हजार रुपैयाँ कायम हुँदा प्रतिशेयर नेटवर्थ २३५.५० रुपैयाँ र मूल्य आम्दानी अनुपात २०.५१ गुणा छ । कम्पनीको जगेडा कोष ११ प्रतिशतले घटेको छ ।

यता, अन्य आम्दानी शीर्षकमा उल्लेख्य मात्रामा गिरावट आएको छ । यस अवधिमा कम्पनीको आम्दानी घट्दा र खर्चमा नियन्त्रण गर्न नसक्दा खुद नाफामा असर परेको छ । गत आवको चैतसम्म कम्पनीले ७५ करोड ५५ हजार रुपैयाँ अन्य आम्दानी गरेकामा हाल ३४ करोड १५ लाख ३४ हजार रुपैयाँ मात्र कमाएको छ ।

हिमाल पावर लिमिटेडबाट आउने लाभांश आम्दानीमा कमी भएपछि खुद नाफामा गिरावट आएको कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।