रसुवागढी हाइड्रोपावर कम्पनीले बिजुली बाल्ने लक्ष्य एक वर्ष पछाडि धकेल्दै चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ ।
दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दा २०७८ असारसम्ममा बिजुली बाल्ने प्रक्षेपण गरेको आयोजनाले अब २०७९ असारसम्म बिजुली बाल्ने लक्ष्य राखेको छ । कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञाका काराण आयोजना निमार्णमा ढिलाई हुने आयोजनाको भनाई छ ।

कम्पनी चालु आवको चैत मसान्तसम्ममा २ करोड ४६ लाख ४३ हजार रुपैयाँ नोक्सानमा पुगेको छ । गत आवको यसै अवधिमा कम्पनी ६ करोड ४० लाख २६ हजार रुपैयाँ नोक्सानीमा थियो ।
चुक्ता पूँजी ६ अर्ब १५ करोड ७८ लाख ९० हजार रुपैयाँ रहेको हाइड्रोको प्रतिशेयर आम्दानी पनि ०.५३ पैसा ऋणात्मक रहेको छ । जगेडा कोष २२ करोड ६४ लाख रुपैयाँले ऋणात्मक छ । कम्पनीको जगेडा कोष नोक्सानी रहेकाले कम्पनीको प्रतिशेयर नेटवर्थ ९६.३२ रुपैयाँ छ।
कम्पनीको दीर्घकालिन ऋण ७ अर्ब २१ करोड रुपैयाँ छ भने अल्पकालिन ऋण ६० करोड रुपैयाँ छ । कर्मचारी संचयकोषले कम्पनीको ऋणको ब्याज एक प्रतिशतले घटाइदिएको छ । बार्षिक १०.७५ प्रतिशत ब्याज तिर्दै आएको कम्पनीले गत साउनदेखी ९.७५ प्रतिशत तिर्दै आएको छ । यसले पनि कम्पनीलाई कही राहत मिलेको छ ।
रसुवाको गोसाईकुण्ड गाउँपालिका १ र २ मा निर्माणाधिन आयोजना १११ मेगावाटको हो । विद्युत खरिद बिक्री सम्झौता (पीपीए) मा उल्लेख भए अनुसार आयोजनाको लागत १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ हुने अनुमान गरिएकोमा विदेशी मुद्रा सटहीदर, प्राकृतिक विपत्ति, र बन्द हड्तालले आयोजनाको लागत बढ्ने वित्तीय विवरणमा उल्लेख छ ।
साथै पछिल्लो समय कोरोनाको कारण आयोजनाको काम बन्द हुँदा पनि थप आर्थिक भार व्योहोर्नुपर्ने अवस्था देखिएको छ । आयोजना स्थल विकट स्थानमा रहेकाले पहिरोको कारण समेत निमार्ण कार्यमा असर गरिरहेको छ।
यससँगै जनताको जलविद्युतमा सम्मिलित आयोजनामा लगानी गरेका लगानीकर्ताले छिटो लाभांश पाउने समयावधि थप लम्बिएको छ । आयोजनाको भौतिक प्रगति ८० प्रतिशतमात्र रहेकाले कम्पनीबाट लाभांश पाउने समय पर धकेलिने भएको हो । २०७९ असार मसान्तसम्ममा निर्माण पूरा गर्ने योजना हाइड्रोले बनाएपनि सो अवधिमा आयोजना सम्पन्न हुन त परको कुरा थप भौतिक प्रगति समेत नभएपछि आयोजनाको २० प्रतिशत निमार्णको काम सम्पन्न हुन अझै एकवर्ष बढी समय लाग्ने देखिन्छ ।
नेपाल विद्युत प्राधिकरणले आयोजनाको विद्युत हिउँदमा ८ रुपैयाँ ४० पैसा प्रतियुनिट र वर्षयाममा ४ रुपैयाँ ८० पैसा प्रतियुनिटको दरमा विद्युत खरिद गर्ने सम्झौता भैसकेको छ । यसबाट कम्पनीले वार्षिक ३ अर्ब २५ करोड रुपैयाँभन्दा धेरै आम्दानी हुने उल्लेख छ । आयोजना निर्माण भएर पूर्ण रुपमा विद्युत उत्पादन थालेको अवस्थामा हाइड्रोले वार्षिक ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत उत्पादन गर्नेछ ।
आयोजनामा ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत साधारण शेयर स्वामित्व रहेको छ। जसमध्ये नेविप्राको १८ प्रतिशत, चिलिमेको ३२.७९ प्रतिशत, रसुवाको स्थानीय तहको ०.२१ प्रतिशत गरि ३ अर्ब ४८ करोड ९४ लाख ७१ हजारको संस्थापक शेयर र सर्वसाधारणका लागि २ अर्ब ६६ करोड ८४ लाख १९ हजार गरि कूल ६ अर्ब १५ करोड ७८ लाख ९० हजारको शेयर स्वामित्व छ ।
विद्युत्गृहमा उपकरण जडान गर्ने जिम्मा पाएको इन्डियन कम्पनी भोइथ भारत एवं टिमुरेदेखि थाम्बुचेतसम्म १० किमी दूरीको प्रसारण लाइन निर्माण गर्ने मुड्वरी एन्ड जेभी कम्पनी लिमिटेडले तोकिएको तालिकाअनुरूप काम नगर्दा विद्युत् आयोजनाको संरचना बनाउने कार्य ढिलाइ भएको हो ।
पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ सन् २०१३ बाट शुरु गरिएको निर्माण कार्य विगतका समयमा भएको पेट्रोलियम पदार्थको अभाव, समयसमयको सडक अवरुद्व, भूकम्पको असर जस्ता विविध कारणले सम्पन्न गर्न ढिलाइ भएको आयोजनाले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया