आर्थिक वृद्धिदरको लक्ष्य भेट्टाउन चुनौतिपूर्ण: अर्थमन्त्री

0
Shares

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको संसोधित आर्थिक वृद्धिको लक्ष्य भेट्टाउन पनि चुनौतिपूर्ण रहेको बताएका छन् ।

शुक्रबार आर्थिक सर्वेक्षण २०७७/७८ सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड १९ को दोस्रो लहरका कारणले अर्थतन्त्रमा प्रभाव पर्दा संशोधित आर्थिक वृद्धि समेत हासिल हुनसक्ने अवस्था नरहेको बताएका हुन् ।

कोभिड १९ को संक्रमण रोक्न सरकारले वैशाख १६ गतेबाट निषेधाज्ञा लगाएको छ । निषेधाज्ञाले अर्थतन्त्रमा आउने सुस्तताले लक्ष्य भेट्टाउन मुस्किल हुने उनले बताएका हुन् ।

पौडेलले भने ‘ महामारीबाट उत्पन्न आर्थिक संकटका बाबजुत पनि नेपालको मुद्रास्फिति बाञ्चित सीमाभित्र रहेको, शोधानान्तर स्थिति तथा विदेशी विनिमय सञ्चिति सुविधाजनक रहेको, वित्तीय क्षेत्र सबल रहेको, र जुननिमार्णमा भएको प्रगति र मानव विकासको क्षेत्रमा भएको विस्तारका कारण आगामी दिनमा आर्थिक स्थिति सबल हुँदै अर्थतन्त्रमा ‘भि’ आकारको आर्थिक वृद्धि हुने अनुमान रहेकोमा नयाँ वर्ष २०७८ सँगै फैलिएको कोभिड १९ को दोस्रो लहरले क्रमशः गतिशिल बन्दै गइरहेको अर्थतन्त्रमा पुनः चुनौति र जोखिम बढाइदिएको छ ।’

सरकारको चालु वर्ष २०७७/७८ मा ४.०१ प्रतिशत आर्थिक वृद्धि हुने संसोधित अनुमान रहेको थियो । यसअघि सरकारले बजेट मार्फत चालु वर्ष आर्थिक वृद्धि लक्ष्य ७ प्रतिशत राखेको थियो। आव २०७६/७७ मा पनि नेपालको आर्थिक वृद्धिदर २.१२ प्रतिशतले ऋणात्मक रहेको थियो ।

कार्यक्रममा अर्थ सचिव शिशिरकुमार ढुंगानाले चालु खाता घाटा पहिलेभन्दा केही संकुचित भएपनि त्यो नियन्त्रित सीमाभित्र नै रहेकाले रिभाइबलका कार्यक्रमहरु सञ्चालन गर्नका लागि असर गर्नसक्ने अवस्था नरहेको उल्लेख गरे । यसबाट सिर्जना हुने प्रतिकुलताहरुलाई व्यवस्था गर्न सकिनेगरी, निजी क्षेत्रको विश्वास आर्जन गर्न सकिनेगरी र अर्थतन्त्रमा पार्नसक्ने थप चापलाई व्यवस्था गर्न सकिनेगरी अवस्थामा रहेकाले त्यसले पार्ने निजी क्षेत्रलाई दिने उत्प्रेरणका साधनहरुमा, विकास र आर्थिक पुनरुत्थानमा असर पर्नसक्ने अवस्थामा नरहेको उनले बताए ।

सचिव ढुंगानाले ७ प्रतिशतको आर्थिक वृद्धि बाहेक अर्थतन्त्रका अन्य सूचकहरुमा सबल रहेको बताए । शोधानान्तर स्थिति, विदेशी विनिमय सञ्चिति, मुद्रास्फिति नियन्न्त्रित, आयाता निर्यातको अनुपात र बैशाखसम्मको अवस्थामा राजश्व संकलनको स्थिति लगायत अर्थतन्त्रको समष्टिगत सूचकहरुमा कम्फटेबल जोनमा नै रहेको बताए ।

फागुनसम्म ४.४ प्रतिशतको आर्थिक वृद्धिमा आउनसक्छौं भन्ने अनुमान रहेकोमा कोभिड दोस्रो लहरका कारण केही चाप, समस्या र चुनौतिहरु थपिएपनि पुरानै अवस्थामा संकुचन हुने अवस्थामा हाम्रो अर्थतन्त्र नरहेको ढुंगानाले दाबी गरे ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।