बरुण हाइड्रोपावरको प्रतिशेयर आम्दानी ८३ पैसा मात्र, पीई ६६३ गुणा धेरै

0
Shares

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको गत आर्थिक वर्ष २०७७/७८ मा वार्षिक प्रतिशेयर आम्दानी ८३ पैसा कायम भएको छ । तर कम्पनीको यस अवधिमा मूल्य आम्दानी अनुपात पीई रेसियो भने असार मसान्तको मूल्यमा नै ६६३ गुणा धेरै रहेको छ ।

आम्दानी सुकेपनि शतप्रतिशत हकप्रदको चल्ला चलाएर कारोबारीहरुले कम चुक्ता पूँजी रहेका कारण कम्पनीको मूल्यमा चलखेल गर्दा मूल्य आकाशिएको हो ।

एक रुपैयाँभन्दा कम प्रतिशेयर आम्दानी भएपनि बुधबार कम्पनीको शेयरमूल्य ६१७ रुपैयाँ रहेको छ । कम्पनीको चुक्ता पूँजी २६ करोड ७९ लाख ७ हजार रुपैयाँ मात्र रहेको छ ।

कम्पनीको विद्युत बिक्री आम्दानी घटेसँगै आम्दानी पनि घटेको हो ।

गत आर्थिक वर्षमा हाइड्रोपावरको खुद नाफा २२ लाख ३० हजार रुपैयाँ मात्र रहेको छ । अघिल्लो आवमा ६३ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा हाइड्रोपावरको विद्युत बिक्री आम्दानी साढे २ करोडभन्दा बढीले घटेको छ । अघिल्लो आवमा विद्युत बिक्रीबाट ८ करोड ५० लाख रुपैयाँ आम्दानी गरेकोमा घटेर ५ करोड ९७ लाख रुपैयाँमा खुम्चिएको छ ।

प्रसारण लाइनका कारण आयोजना पूर्ण क्षमतामा चलाउन नपाउँदा आम्दानी घटेको कम्पनीको प्रष्टोक्ति रहेको छ ।कम्पनीको रिटेन्ड अर्निङ्गमा ५० लाख २४ हजार रुपैयाँ सञ्चित छ भने कम्पनीको प्रतिशेयर नेटवर्थ १०१.८८ रुपैयाँ छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।