एनआरएनए अधिवेशनका लागि उम्मेदवारी घोषणा सुरु

0
Shares

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को अधिवेशन नजिकिएसँगै धमाधम उम्मेदवारी घोषणा भइरहेका छन् ।

नयाँ कार्यसमिति चयनका लागि जर्मनीका प्रतिनिधिलाई चासोका साथ हेरिने गरिन्छ । वर्तमान अध्यक्ष कुमार पन्त र पूर्वअध्यक्ष जीवा लामिछाने पनि जर्मनीबाटै देशबाट प्रतिनिधित्व गर्नुहुन्छ ।

यसैगरी रामप्रताप थापा, उषा शर्मा, दिल गुरुङ लगायत एनआरएनए अभियानकर्मी रहनु भएको जर्मनीबाट यसपटक अन्तर्राष्ट्रिय समन्वय परिषद् तहमा नेतृत्व लिएर अघि बढ्ने उम्मेदवारबारे चर्चा सुरु हुन लागेको छ ।

यहाँ एक हजार ५९५ सदस्य छन् । आइसिसीमा जान पाउनेमा निर्वाचन मार्फत शङ्कर डाँगी विजयी भइसक्नुभएको छ ।

अक्टोबर तेस्रो साता सुरु हुने अधिवेशनका लागि युरोप क्षेत्रीय संयोजक र उपसंयोजकका उम्मेदवारका रूपमा जर्मनीबाट क्रमशः पूर्वआइसिसी सदस्य सन्तोष भट्टराई र जर्मनीका पूर्वअध्यक्ष डा. नवराज रोस्याराले उम्मेदवारी दिने घोषणा गर्रेका छन् ।

यसपटक पहिलेको जस्तो परिस्थिति पनि नभएको र आफ्नो उम्मेदवारी समयको माग बनेकाले युरोप क्षेत्रको नेतृत्व लिने अठोटमा पुगेको उनीहरुको भनाइ छ ।

यसैगरी बद्री केसी, कुल आचार्य र रविना थापाबीच अध्यक्ष पदमा प्रतिस्पर्धा हुन लागेको बताइएको छ । उपसंयोजक पदका उम्मेदवार डा. रोस्यारा पनि अन्तिम अवस्थासम्म आउँदा केवल तीन जनाको मात्र उम्मेदवारी पर्नसक्ने भएकाले सर्वसम्मत रूपमा विजयी हुने दाबी गछन् ।

विद्युतीय मतदान प्रणाली मार्फत अक्टोबरमा हुने निर्वाचनमा युरोप क्षेत्र संयोजकको लागि अहिलेसम्म पाँच जनाको नाम बढी चर्चामा छ । तीमध्ये जर्मनीबाट भट्टराई, बेलायतबाट कृष्णप्रसाद तिमल्सिना, आयरल्याण्डबाट शुक्रराज न्यौपाने, स्पेनबाट मुक्त गुरुङ र चिन्तामणि सापकोटा रहेका छन् ।

त्यस्तै उपसंयोजकको तीन पदका लागि जर्मनीबाट डा. रोस्यारा, अष्ट्रियाबाट सागर सुवेदी, बेल्जियमबाट चित्र सुवेदी, पोर्चुगलबाट भीमकमल केसी, नर्वेबाट कुमार पण्डित, आयरल्याण्डबाट सागर लामा, बेलायतबाट ललितकुमार न्यौपाने र दयानिधि तिवारी बढी चर्चामा छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।