हाइड्रोईलेक्ट्रसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआइडीसीएल) ले आज (बिहीवार) देखि अवितरित हकप्रद शेयर लिलामी प्रकृयाबाट विक्री खुला गर्ने भएको छ ।
कम्पनीले हकप्रदमा बिक्री नभएको साढे ३ करोड बढी कित्ता लिलामीमा आउने भएको छ । कम्पनीले सर्वसाधारण समूहको ३२ लाख २९ हजार ७२४ कित्ता र संस्थापक समूहको ३ करोड ३० लाख कित्ता गरी कुल ३ करोड ६२ लाख २९ हजार ७२४ कित्ता शेयर लिलामीमा विक्री खुला गरेको छ ।
कम्पनीले साउन ५ गतेदेखि भदौ ८ गतेसम्म विक्री गरेको ११ अर्ब बराबरको हकप्रद शेयर भदौ २६ गते बाँडफाँड भएको थियो । कम्पनीले हाल कायम चुक्तापूँजीको एक बराबर एक अनुपातमा ११ अर्ब बराबरको ११ करोड कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो।
तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका १ लाख ९६ हजार ४२४ जनालाई ७ करोड ३६ लाख ७० हजार २७६ कित्ता हकप्रद शेयर बाँडफाँड गरिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीको ३ करोड ६२ लाख २९ हजार ७२४ कित्ता हकप्रद शेयर वितरण हुन सकेन ।
उक्त लिलामी शेयरमा जो कोही व्यक्ति, संस्था वा कम्पनीले असोज १४ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीको न्यूनतम मूल्य एक सय रुपैयाँ तोकिएको छ ।
आवेदकले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । सर्वसाधारणतर्फ न्यूनतम १०० कित्ता र संस्थापकतर्फ न्यूनतम १ करोड कित्ताका लागि आवेदन दिनु पर्नेछ । अधिकतम संख्याको लागि भने कुने हद तोकिएको छैन ।
कम्पनीको शेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौंबाट बोलपत्र आवेदन फारम लिन र बुझाउन सकिनेछ । यस्तै, ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा र नारायणगढ शाखाबाट आवेदन दिन सकिन्छ । साथै, बैंकको पोखरा, बुटवल, बागलुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी भर्न सकिने व्यवस्था छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया