पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन अमेरिका, साउदी अरेबिया र युएईमा पनि भेटिएको छ । कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टको पहिलो केस पुष्टि भएको तीनवटै देशका स्वास्थ्य मन्त्रालयहरुले जानकारी दिएको छ ।
अमेरिकाका स्वास्थ्य अधिकारीहरुले यो नयाँ भेरियन्ट बुधबार अमेरिकाको क्यालिफोर्नियामा पत्ता लागेको पाइएको समाचार दिएका भनी विभिन्न विदेशी सञ्चारमाध्यमहरुले जनाएका छन् । यही नोभेम्बर २२ मा दक्षिण अफ्रिकाबाट आएका एक जना व्यक्तिमा सो भेरियन्ट देखिएको जानकारी क्यालिफोर्नियाको स्वास्थ्य विभागका अधिकारीहरुले बुधबार जानकारी दिएका हुन् । उनको परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि युनिभर्सीटी अफ क्यालिफोर्नियामा थप परीक्षण गरिएको थियो । यसबाट उनको कोरोना भाइरसको नयाँ अर्थात् पछिल्लो घातक भेरियन्ट भनिएको ओमिक्रोन पत्ता लागेको बताइएको छ ।
अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनले क्यालिफोर्नियामा बुधबार देखा परेको यो नै अमेरिकामा देखिएको ओमिक्रोनको पहिलो संक्रमण भएको पुष्टि गरेको पनि समाचारमा जनाइएको छ ।
अघिल्लो हप्ता दक्षिण अफ्रिमा पत्ता लागेको बताइएको यो भाइरस विश्वका कैयौँ देशमा भेटिइसकेको छ । “ओमिक्रोन भेरियन्टको एउटा केस राज्यमा पत्ता लागेको छ । उत्तर अफ्रिकी देशबाट आएका एक नागरिकमा उक्त भेरियन्ट फेला परेको हो । ’ साउदी स्वास्थ्य मन्त्रालयका एक अधिकारीले राज्यद्धारा सञ्चालित समाचार समिति एसपीएलाई जानकारी दिएका छन् । सङ्क्रमित ती व्यक्तिलाई छुट्टै राखिएको र आवश्यक स्वास्थ्य उपायहरू दिइएको पनि बताइएको छ ।
छिमेकी राष्ट्र संयुक्त अरब इमिरेट्सले पनि आफ्नो देशमा पहिलो ओमिक्रोन केस पत्ता लागेको जनाएको छ । “एउटी अफ्रिकी महिला अफ्रिकी देशबाट अरब देश हुँदै आएकोमा उक्त भेरियन्ट पत्ता लागेको स्वास्थ्य मन्त्रालयले ट्विटरमार्फत जानकारी दिएको छ । यो भेरियन्ट पहिलो पटक दक्षिण अफ्रिकाले घोषणा गरेको थियो तर पछि युरोपमा पहिले नै रहेको पत्ता लागेको छ । यस नयाँ भेरियन्टले पुनः विश्वभरका यात्रा प्रतिबन्धहरू लागू गर्न प्रेरित गरेको छ । साउदी अरेबियाले गत हप्ता सात दक्षिणी अफ्रिकी देशहरूबाट उडानहरू रोकेको थियो । अन्य कैयौ देशले पनि दक्षिणी अफ्रिकी देशहरुबाट उडानहरू रोकेका थिए ।
साउदी अरेबियामा महामारीको सुरुमा लगाइएको केही बाँकी प्रतिबन्धहरू हटाइरहेको थियो । मुस्लिम पवित्र स्थानहरूमा पूजा गर्नेहरूलाई अक्टोबरदेखि काँधमा काँध मिलाएर प्रार्थना गर्न पुनः सुरु गर्न अनुमति दिइएको थियो । करिब ३ करोड ५० लाख जनसङ्ख्या भएको यस देशमा कोभिडको ४ करोड ७० लाखभन्दा बढी डोज खोप दिइएको छ । महामारी सुरु भएदेखि, साउदी अरेबियामा कोविड–१९ को पाँच लाख ४९ भन्दा बढी सङ्क्रमति भएका छन् । जसमध्ये ८ हजार ८०० भन्दा बढीको मृत्यु भएको छ ।
युएईमा करिब ७ लाख ४२ हजार २०० सङ्क्रमति भएका छन् भने यसको सङ्क्रमणबाट २ हजार १०० भन्दा बढीको मृत्यु भएको छ ।
स्पेनमा कोभिड ओमिक्रोन स्ट्रेनको तेस्रो सङ्क्रमण पुष्टि
कोभिड-१९ को नयाँ स्ट्रेन ओमिक्रोनको तेस्रो सङ्क्रमणको घटना स्पेनको बेलेरिक टापुमा पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
सन् स्पेसेस विश्वविद्यालय अस्पतालको माइक्रोबायोलोजी प्रयोगशालाले आज विशेष पिसिआर परीक्षण मार्फत ओमिक्रोन सार्स कोभ २ स्ट्रेनको सङ्क्रमण पुष्टि गरेको कुरा बेलेरिक टापु सरकारको स्वास्थ्य परिषद्ले विज्ञप्तिमा मार्फत् जनाएको छ । यस अघि दुई केसहरू म्याड्रिडमा पुष्टि भएका थिए।
तीनवटै सङ्क्रमण दक्षिण अफ्रिकाका यात्रुहरूमा पत्ता लागेको हो।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया