अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य सात वर्ष यताकै उच्च पुगेको छ ।
फेब्रुअरी २४ मा रुसले युक्रेन विरुद्ध विशेष सैनिक अप्रेशन सञ्चालन गरेपछि दुई देशबीच युद्ध सुरु भएको थियो । रुस पेट्रोलियम पदार्थ उत्पादनमा विश्वभरमा तेस्रो नम्बरमा पर्छ । तसर्थ रुस–युक्रेन युद्धले अन्तराष्ट्रिय बजारमा तेलको मूल्य बढाइरहेको छ ।
युद्ध सुरु भएको दिन तेलको मूल्य प्रतिब्यारल १०५ डलर भएको थियो भने युद्धमा पूर्णविराम नलाग्दा युद्धको सातौँ दिनमा आइपुग्दा कच्चा तेलको मूल्य प्रति ब्यारल ११० पुगेको छ । यो मूल्य सन् २०१३ सेप्टेम्बर यताकै उच्च रहेको छ ।
बुधबार बे्रन्ट क्रुडले ११०.२३ डलर प्रति ब्यारलमा कारोबार गरेको छ । यो मूल्य सन् २०१४ जुलाई महिना यता कै उच्च हो । त्यसैगरी वेस्ट टेक्सास इन्टरमिडियट (डब्लुटीआई)ले १०८.४१ डलर प्रति ब्यारलमा कारोबार गरेको छ । जुन सन् २०१३ सेप्टेम्बर महिना यताकै उच्च हो ।यसैबीच वेस्टप्यागका अर्थशास्त्री जस्टिन स्मीर्कले व्यापारमा आएका अवरोधहरुले बल्ल मानिसको ध्यान खिच्न सफल भएको बताए ।
विश्वभर आपूर्ति हुने कच्चा तेलको ८ प्रतिशत तेल रुसबाट हुन्छ । दुई देशबीचको युद्धले कच्चा तेल लगायतका प्राकृतिक ग्यासको आपूर्तिमा अवरोध बढाउदै गएपछि तेल क्रेताहरुले वैकल्पिक बाटो अपनाउन खोजिरहेका छन् । रुसलाई युक्रेनमा थप आक्रामण गर्नबाट रोक्न युरोप, अमेरिका, बेलायत, क्यान्डा, जापान लगायत देशहरुले विभिन्न प्रतिबन्धहरु लगाएका छन् । आर्थिक, साइबर, हवाइ–उडान जस्ता क्षेत्रमा कडा प्रतिबन्ध लगाएता पनि कच्चा तेलको आपूर्ति रोक्ने गरी कुनै पनि देशले प्रत्यक्ष रुपमा प्रतिबन्ध लगाएका छैनन् ।
कच्चा तेल लगायतका पेट्रोलियम पदार्थको आपूर्तिमा समस्यन देखिएपछि तेल निर्यातकर्ता देशहरुको संगठन (ओपेक)को आज बैठक हुँदै छ । जनवरीमा बसेको बैठक अनुसार ओपेकले दैनिक आपूर्तिमा ४ लाख ब्यारल बढाउने घोषणा गरेको थियो ।
अमेरिकाको न्यूयोर्क स्थित एक व्यापारीका अनुसार मानिसहरुले रुसबाट आएको कच्चा तेललाई प्रयोग गरेका छैनन् । युद्ध सुरु हुनु अगावै ल्याइएको कच्चा तेलको प्रयोग भइरहेको बताएका छन् । बजारमा तेलको मूल्यमा कडाइ आएसँगै पछिल्लोे तथ्याङ्क अनुसार अमेरिकी पेट्रोलियम उद्योगको कच्चा तेल सञ्चितिबाट ६० लाख ब्यारल रिलिज गरेको छ ।
रुस–युक्रेन युद्धका कारण माग बढ्दै जाँदा दोस्रो ठूलो उत्पादक देश साउदी अरेबियाले पनि तेलको मूल्य वृद्धि गर्ने निष्कर्ष विज्ञहरुको रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया