कुनैबेला ६ अर्ब डलर बजेट विनियोजन गर्ने अफगानी अर्थमन्त्री कसरी हुन पुगे उबर ड्राइभर ?

0
Shares

मलाई यो जीन्दगीले चोट दियो गनि गनि…
कहिले चोट दियो आफ्नो भनि, कहिले चोट दियो पराइ बनि…
मलाई यो जीन्दगीले चोट दियो गनि गनि….

नेपाली चलचित्र हामी तीन भाईमा गायक उदित नारायण झा ले गाएको गीतसँग मिल्दोजुल्दो भएको छ अफगानस्थानका पूर्वअर्थमन्त्री खालिद पायन्दाको जीवन । पछिल्लो ग्रीष्म ऋतुसम्म अफगानिस्तानमा अर्थमन्त्रीको पदभार सम्हालेका अफगानी अर्थमन्त्री खालिद पायन्दा अहिले अमेरिकाको वासिङटन डिसीमा एक सामान्य उबर (ट्याक्सी) ड्राइभरको काम गरिरहेका छन् । 

वासिङ्टन डीसीमा गुमनाम जीवन जिउँदै आएका खालिद पायन्दाका बारेमा अमेरिकी पत्रिका ‘वासिङ्टन पोस्ट’ ले उनको जीवन संघर्षलाई लिएर शनिबार एउटा समाचार छापेपछि केही दिनयता उनी विश्वका सञ्चारमाध्यममा चर्चामा छन्।

एकै व्यक्तिका लागि पनि सबै समय एकनास हुँदैन ।  खालिदको अर्थ स्थायी भन्ने भएपनि अफगानिस्तानका अर्थमन्त्री भएका पायन्दाको जीवनमा भने धेरै चिज स्थायी छैन । समयको खेल, कुनैबेला अफगानिस्तानका पूर्व अर्थमन्त्रीकाे रूपमा ६ अर्ब अमेरिकी डलर बराबरको बजेट विनियोजन गरिरहेका खालिद अहिले अमेरिकामा ट्याक्सी चलाउन बाध्य छन् ।

अहिले उनी केही सय डलरको लागि अमेरिकाका गल्ली गल्लीमा आफ्नो होन्डा एकर्ड कुदाइरहेका छन् । 

खालिद अहिले वासिङटन डीसीको उडब्रिजमा रहेको आफ्नो वासस्थानबाट सबेरै उठ्छन् । उठिसकेपछि आफ्नो कार लिएर उबर एपको सहायतामा उनी ग्राहकहरुलाई गन्तव्य स्थलसम्म पुर्‍याउने काम गर्छन् ।

साताको अन्तिम कार्यालय दिन शुक्रबार, अमेरिकी पत्रकारसँग उनी भन्छन्, “कार्यालय बिदाको दुई दिनमा करिब ५० ट्रिप गर्ने हो भने, मैले ९५ डलर बोनस पाउँछु । यो जागिर नै मेरी श्रीमती र चार बालबच्चाहरुको आवश्यकता पूरा गर्ने बाटो बनेको छ र म यसका लागि आफैँलाई सौभाग्यशाली ठान्छु ।” उनी थप्छन्, “यसरी आफ्नो काममा व्यस्त रहँदा म आफ्नो देशको अवस्थाको बारेमा सोचेर विक्षुप्त भइराख्दिँन ।”

अमेरिकी सहयोगमा बाँचिरहेको अफगानिस्तानमा, अमेरिकाले सहयोग दिन छाडेपछि र आफ्नो आर्मी फर्काएर लगेपछि तालिवान समूहले सत्ता सम्हालेको छ । कट्ठर इस्लाम धर्मपन्ती समूह–तालिवानले अफगानिस्तानको सत्ता हात लिएपछि देशको र जनताको हाँसोखुशी र स्वतन्त्रता लुटिएको छ । अफगानिस्तान अहिले कोभिड–१९ महामारी, भोकमरी, अन्तराष्ट्रिय प्रतिबन्धहरु, धरासायी भएको आर्थिक अवस्था, अनिकाल, खडेरी जस्ता समस्याहरुसँग जुझिरहेको छ ।

अफगानिस्तानमा तालिबानको कब्जापछि राष्ट्रपति घनीसँगैश छाडेर जाने मन्त्रीमध्येका एक थिए खालिद । तर घानीले अर्बौं सम्पत्ति बोकेरै विदेश भासिएको समाचार आएपनि घनीसँगै देश छाडेका खालिदको अवस्था भने अमेरिकाको राजधानी वासिङ्टन डीसीमा अहिले क्याब (ट्याक्सी) चलाएर जीवन धाननु परिरहेको छ ।

आखिर के भयो त ? जसकारण आफ्नै देश छाडेर अफगानी अर्थमन्त्री लगायतका नेताहरु अमेरिका आए ? प्रश्नको जवाफमा उनी भन्छन्, “हामीसँग आफ्नो देशको स्वतन्त्रता र स्वाधीनता जोगाउने सामूहिक इच्छा भएन । सबैले अफगानिस्तानमा तालिवानको शासन हुनुलाई अमेरिकाको दोष मान्छन्, तर म आफूलाई नै दोष दिन्छु । हामी कहिल्यै पनि देशको लागि आफ्नो व्यक्तिगत जीवन भन्दा माथि उठेर सोचेनौँ फलस्वरुप आज म न अफगानी नागरीक भएर अफगानीस्तान जान सक्छु न अमेरिकी नै हुँ भन्न सक्छु । यो पश्चातापले मलाई शून्य बनाएको छ । मेरो कुनै ठाउँ नै भएन ।”

अफगानीस्तानमा भएको तालिवानी हमलालाई लिएर, अमेरिकी राष्ट्रपति जो बिडेन भन्छन् , “हामीले अफगानिस्तानलाई आवश्यक पर्ने हरेक सहयोग दियौं, आफ्नो देशको भविष्य आफैँ बनाउनको लागि र राष्ट्रिय स्वाधीनता जोगाउनको लागि हरेक अवसर दियौं तर दुर्भाग्य हामीले आफगानीहरुमा आफ्नो भविष्यको लागि आफैँ लड्ने इच्छाशक्ति दिन सकेनौं ।”

मोबाइल फोनमा रहेको उबर एपमा आफ्ना ग्राहकहरु बटुली रहेका खालिदको मोबाइल फोनमै सबै कहानीको बेलीबिस्तार रहेको छ । उनले अफगानीस्तानमा तालिवानहरुले राज्यसत्ता हातमा लिनुभन्दा एक हप्ता अघि अफगानी राष्ट्रपति असरफ घानीले सार्वजनिक रुपमै गालीगलौज गरेपछि तथा लेवानी कम्पनीलाई भुक्तानी गर्न असक्षम भएपछि अर्थ मन्त्रालयले आफ्नो कार्यभार सम्हालनबाट चुकेको भनेपछि राजीनामा दिएर अमेरिका रवाना भएका थिए ।

उनी सम्झन्छन्, अमेरिकाले आफ्नो सेना फर्काउनु र तालिवानको बढ्दो हमलाले त्यो समय राष्ट्रपति कति रिसाहा र विक्षिप्त भएका थिए । उनले तालिवानले तत्कालै हमला गर्छ भन्ने सोचेका थिएनन् तर राष्ट्रपतिको आक्रमक व्यवहार, कार्यव्यवस्थापनमा हुने गल्तीहरु , रिसाहा प्रवृत्ति र सट–टेम्परले गर्दा देशको भविष्य समस्यामा आउने आकलन गरेको थिए । घानीले कतै गलत आरोपहरु लगाएर जेल पठाउँछन् कि भन्ने डर पनि उनको मनमा थियो र अन्ततः केही डर र आफ्नो जीवन बचाउने लोभमा उनी अमेरिका गए ।

सन् २०२१ अगस्ट १५ मा जब तालिवानले अफगानिस्तान हत्याएको थियो, तब उनले विश्व बैंक काबुलका देशीय निर्देशकलाई कति दुख दिन भन्ने म्यासेज पाए । देशको अवस्था देखेर उनले ट्वीटरमा ट्वीट गरेका थिए ।

जसमा भनिएको थियो , “हामीसँग २० वर्ष थियो, अफगानको नयाँ भविष्य कोर्ने, संसारभरका देशहरुको साथ, सहयोग थियो तर पनि हामीले केही गर्न सकेनौं । तालिवानले अफगानमाथि कब्जा गर्नुले हाम्रो असफलता प्रस्टाएको छ । हामीले नराम्रोसँग हारेका छौं । हामीले भ्रष्टाचारको बलियो जग बसाल्यौं । अन्तिम अवस्थासम्म पनि हामीले भ्रष्टाचार गर्न छाडेनौं । हामीले आफ्नै जनतालाई ठग्यौं । धोका दियाैं । हामीले जनताबाट नै चोर्‍याैं।”

त्यसको एक घण्टा पनि नबित्दै उनीसँग सहायताको लागि गरिएको अपिल तथा केही गाली मिश्रित अनेकन म्यासेजहरु आए । अहिलेको समयमा उनको ह्वाटस्याप हेर्दा र पहिलेको म्यासेज हेर्दा के यो एकै जीवनकाल हो त भन्ने कुराको भान उनलाई हुन्छ । उनी जर्जटाउन विश्वविद्यालयमा अध्यापन पनि गराउँछन् । आफ्ना विद्यार्थीहरुलाई युद्ध र युद्ध पछि कसरी पुर्नसंरचनाको काम गर्न सकिन्छ भन्ने बारेमा उनी शिक्षा दिन्छन् । जसवापत उनलाई प्रत्येक सेमेस्टरको २००० डलर दिइन्छ । उनी पैसाको लागि भन्दा पनि आफ्ना विद्यार्थीहरुलाई युद्धको भग्नाअवशेष बारे जानकारी दिन अध्यापन गराएको बताउँछन् ।

आफ्नो नयाँ जीवनको परिकल्पना गर्दा उनी भावी पुस्ताप्रति आशावादी रहेको बताउँछन् । उनी भन्छन्, “एक खुश्याल तथा अर्थपूर्ण जीवन उनी तब जिउने छन्, जब मैले आफ्नो जिम्मेवारी बोध गरेका र धनसम्पत्तिमा धेरै दिलचश्वी नराख्ने र मानवीय मूल्य तथा मर्यादाहरुलाई आत्मसात् गरेर अघि बढ्ने छोराछोरी हुर्काउन सक्नेछु ।”

(वासिङ्टन पोस्टमा प्रकाशित एस्ट्रिड रिकेनको रिपोर्टको सम्पादित अंश)

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।