रुसको सीमाक्षेत्र र ब्याल्क सी को तटमा अवस्थित दक्षिणी युक्रेनी सहर ओडेसामा रुसले नाकाबन्दी गर्दा विश्वव्यापी रुपमा खाद्य संकट उत्पन्न हुने भएको छ । युक्रेन युरोपको ब्रेड बास्केट हो ।
युक्रेनमा उत्पादन हुने गहुँ, मकै र सूर्यमुखीको तेल युरोपमा मात्र नभई विश्वभर आयात हुने गरेको छ । रुसले युक्रेनमा युद्ध सुरु गर्नुअघि युक्रेनले प्रतिमहिना ४५ लाख टन खाद्य सामग्री निर्यात गर्दै आएको थियो ।
अन्तर्राष्ट्रिय न्यूज एजेन्सी एएफपीले ओडेसा सहरको बन्दरगाहबाट निर्यात गर्दै आएको युक्रेनले विश्वव्यापी रुपमा उपभोग गरिने १२ प्रतिशत गहुँ, १५ प्रतिशत मकै र ५० प्रतिशत सूर्यमुखीको तेलको आपूर्ति गर्दै आएको जनाएको छ ।
रुसले सीमाकृत क्षेत्रमा नाकाबन्दी गरेपछि आवागमन ठप्प हुँदा युक्रेनबाट हुने निर्यात बन्द भएको छ । नाकाबन्दी मात्रै नभई ओडेसामा रुसले मिसाइल समेत खसाएको छ । जसकारण ओडेसामा निर्यातको लागि तयार पारिएको खाद्य तथा कृषिजन्य सामग्री नष्ट हुन पुगेको छ ।
युक्रेनको ओडेसा सहरमा युरोप दिवस मनाउन गएका युरोपियन काउन्सिलका अध्यक्ष चाल्र्स मिसेलले युक्रेनी प्रधानमन्त्री भोलोदिमिर जेलेन्सकीसँगको वार्तामा रुसको यस किसिमको प्रवृत्तिले विश्वव्यापी रुपमा खाद्य संकट उत्पन्न गर्ने बताएका छन् ।
ट्वीटरमा ट्वीट गर्दै चाल्स लेख्छन्, “ओडेसाको बन्दरगाहमा निर्यातको लागि तम्तयार अवस्थामा गहुँ, मकै तथा अन्नबाली राखिएको छ । अत्यावश्यक रहेको यो खाद्यान्न रुसले सुरु गरेको युद्ध र ब्याल्क सीमा गरेको नाकाबन्दीका कारण निर्यात हुन सकेको छैन । यसको असर खाद्यान्न संकटबाट ग्रसित तथा कमजोर अर्थतन्त्र भएका देशमा पर्ने छ । खाद्य संकट हुन नदिन विश्वव्यापी रुपमा नै काम अघि बढाउनु पर्छ ।”
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया