उद्योगपति एवं सांसद विनोद चौधरीले सरकारको नीतिका कारण सेयर बजारमा निराशा छाएको बताएका छन् । उनले सरकार नै नीतिगत डिप्रेशनमा रहेकाले सेयर बजारको सुधार र विकास हुन नसकेको आरोप लगाए ।
आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा अर्थ समतिले मंगलबार राखेको छलफलमा बोल्दै चौधरीले सेयर बजार सुधारका लागि सरकारले सुधारका कदमहरु चाल्नुपर्ने बताएका हुन । ‘सेयर बजार बढेको अवस्थामा सकारात्मक सरकार आएको रहिछ भन्ने सन्देश जान्छ ।’ उनले भने ।
तर, सेयर बजारको सम्बन्धमा सरकारको नजरिया नै कमजोर भएको चौधरीको भनाई छ । उनले प्रश्न गरे, ‘सेयर बजारप्रति सरकार किन यस्तो ? बजारको विकासमा सरकारको नीति नै किन बाधक ?’ सेयर बजार लागू गरिएको ४/१२ को व्यवस्था हटाउनुपर्ने उनको सुझाब छ ।
अर्थतन्त्रको ऐना समेत भनिने पूँजीबजारको विकासमा कानूनमा भएका व्यवस्थाका कारण समेत समस्या आउने गरेको उनको भनाई छ । आईपीओको चरणमा रहेका कम्पनीको प्रक्रिया कानुनी व्यवधानका कारण नै नटुङ्गिएको उनले बताए ।
उनले सरकारी ढुकुटी (राष्ट्र बैंक) मा ५०० अर्ब रुपैयाँ होल्ड भएको भन्दै पूँजीगत खर्चबढाएर बैंंकिङ प्रणालीमा तरलता बढाउन समेत सुझाव दिए । सरकारी खातामा रकम होल्ड हुँदा समस्या आएको उनको जिकिर छ ।नेपालमा बजेट अभाव हुनु भन्दा पनि अनुत्पादक बजेट बढदा समस्या भएको तर्क गरे । हरेक बजेटमा पूँजीगत बजेट घट्दै गएको भन्दै उनले चालु बजेट बढ्ने पूँजीगत बजेट घट्ने प्रवृत्ति रोक्नुपर्ने बताए ।
सांसद चौधरीले शिक्षा मन्त्रालयको नीति प्रभावकारी नहुँदा देशबाट रकम विदेश गएको बताए । नेपाली विद्यार्थीलाई विदेश पठाउने भन्दा पनि विदेशबाट नेपाल विद्यार्थी ल्याउने नीति बनाउन आवश्यक रहेको उनको भनाई छ । शिक्षा मन्त्रालयका नीतिका कारण शिक्षाको नाममा चालु आर्थिक वर्षमा मात्रै नेपाली विद्यार्थीले ४३ अर्ब रुपैयाँ लगेको भन्दै यसलाई रोक्नुपर्ने नीति आवश्यक रहेको धारणा राखे । सरकारकाले बनाएको औद्योगिक ग्राममा राम्रो इन्सेन्टिभ नदिँदा उद्योगीहरुलाई आकर्षिकत नगरेको उनको भनाई छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया