४० वर्ष यताकै उच्च भएको मुद्रास्फीति नियन्त्रण गर्न अमेरिकी केन्द्रीय बैंकले औसत बयाज दर वृद्धि गरेपछि डलर दुई दशक यताकै उच्च हुन पुगेको छ । औसत ब्याज दरमा आएको वृद्धि र शक्तिशाली भएको डलरको सामना गर्न एसियाली सेयरबजारलाई मुश्किल परेको छ ।
सेयरबजार मापनका सूचांकबाट प्राप्त तथ्यांक अनुसार सन् २०२२ को पहिलो त्रैमासमा नै एसियाली सेयरबजारले संघर्ष गरिरहेको पुष्टि भएको हो । जापान बाहिरका एसिया प्यासिफिक देशहरुको वृहत सूचांक मापक एमएससीआई पहिलो त्रैमासमा १० प्रतिशतले ओरालो लागेको छ ।
यसैगरी जापानको सेयर सूचांक निकेई ५ प्रतिशतले घटेको छ भने जापानको औद्योगिक कम्पनीहरुको सेयर ७.२ प्रतिशतले घटेको छ । यसैगरी चिनियाँ ब्लु चिप्स १.६ प्रतिशतले ओरालो लागेको छ । जेपी मोर्गनका विश्लेषकहरुले कोभिड–१९का कारण चिनियाँ अर्थतन्त्र प्रभावित भएता पनि, कोभिड पछिको समयमा चिनियाँ अर्थतन्त्रले बाउन्स ब्याक गर्ने बताएका छन् ।
एसियाली सेयर मार्केट मात्रै नभई डलर बलियो हुँदा अमेरिकी एस एन्ड पी ५०० सूचांक यस त्रैमासमा १६ प्रतिशतले ओरालो लागेको छ भने नास्डाक २१ प्रतिशतले घटेको छ । आज एस एन्ड पी फ्युचर्स र नास्डाक फ्युचर्स दुवै ०.४ प्रतिशतले आरालो लागेका छन् भने युरोस्टक्स५० फ्युचर्स र एफएटसीई फ्युचर्स सूचांक ०.५ प्रतिशतले घटेको छ ।
अमेरिका, बेलायत लगायतका केन्द्रीय बैंकहरुले औसत ब्याजदरमा वृद्धि गर्दा प्यानिक भएका लगानी कर्ताहरुले व्यापक रुपमा सेलअफ गर्दा विश्व सेयरबजारले बियरिस ट्रेन्ड समाएको छ । लगानीकर्ताहरुको आर्कषण सुरक्षित उपकरण तर्फ बढेको छ । औसत ब्याजदर वृद्धि हुँदा अमेरिकी ट्रेजरी तथा बन्डको कुपन रेट बढ्दा लगानीकर्ताहरुले बन्डमा लगानी गरिरहेका छन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया