लगानीकर्ताको मनोबल बलियो हुँदा उकालो लाग्यो एशियाली सेयर बजार

0
Shares

लगानीकर्ताहरुको मनोबल उच्च रहँदा आज एशियाली सेयरबजार उकालो लागेको छ ।

अमेरिकी केन्द्रीय बैंक, फेडरल रिजर्भ (फेड)ले आह्वान गरेको वार्षिक साधारण सभाको पूर्व सन्ध्यामा एशियाली सेयरबजार बढ्न पुगेको हो ।

यस अघि फेडले औसत ब्याजदर बढाउने तयारी गर्दा अतालिएर व्यापक रुपमा सेल अफ गरेका लगानीकर्ताहरुले संयमता अपनाउँदा एशियाली सेयरबजारमा हरियाली छाएको हो ।

सभामा फेडका अध्यक्ष जेरोम पावेलले ४० वर्ष यताकै उच्च भएको मूल्यवृद्धिलाई नियन्त्रण गर्ने विधि, श्रम बजारको अवस्था र व्यवस्थापन तथा अमेरिकी अर्थतन्त्रको बारेमा प्रकाश पार्ने छन् ।

अमेरिकाको वार्षिक मुद्रास्फीति दर ८.५ प्रतिशत रहेको छ । उक्त मुद्रास्फीति नियन्त्रण गर्न फेडले केही समय यता आक्रामक रुपमा औसत ब्याजदर बढाइरहेको छ ।

फेडको वार्षिक साधारण सभामा पावेलले मूल्यवृद्धिसँग जुझ्न पहिलेकै अनुपातमा ब्याजदर वृद्धि गरी अर्थतन्त्र सुस्त बनाउँछन् या कुनै अरु रणनीति अपनाउँछन् भन्ने विषयमा लगानीकर्ताहरुको चासो बढेकै समयमा एशियाली सेयर बजार बढ्न पुगेको छ ।

जापान बाहिरको एशिया प्यासिफिक क्षेत्रको बृहत सेयर सूचांक एमएससीआई ०.७ प्रतिशतले बढेको छ भने जापानको निकेइ स्टक सूचांक ०.७२ प्रतिशतले बढेको छ । यसैगरी चीनको सीएसआइ३०० ०.१ प्रतिशतले बढेको छ भने हङकङको ह्याङस्याङ सूचांक १.७ प्रतिशतले बढेको छ ।

एशियाली सेयरबजारमा देखिएको सकरात्मक सुधारका बाछिटा युरोपेली सेयरबजारमा पनि परेको छ । युरो प्यान क्षेत्रको सूचांक युरो स्टक्स५० फ्युचर्स ०.२५ प्रतिशतले बढेको छ भने जर्मनको डाक्स सूचांक ०.३४ प्रतिशत उकालो लागेको छ ।

यसैगरी अमेरिकी सेयर सूचांक एस एन्ड पी५०० इ–मिनिस ०.४२ प्रतिशतले बढेको छ । यसैगरी अष्ट्रलियन सेयर ०.७ प्रतिशतले बढेको छ । एशियाली बजारमा हरियाली छाउँदा नेपालको सेयर बजार समेत सामान्य बढेको छ।

सेयर बजारमा हरियाली छाएता पनि आज डलर भने घटेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।