व्यवसायीको प्रश्न, – ‘निजी क्षेत्रले आर्जन गर्ने नाफामा किन सेलिब्रेशन गर्न सकिँदैन ?

0
Shares

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निजीक्षेत्रसँग सहकार्य गर्न आँट राख्ने नेता नदेखेको बताएका छन् । अहिलेको समस्या निजी क्षेत्रको मात्रै नभएर समग्र मुलुकको भएको उनको भनाइ छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६ औं वार्षिकोत्वसको अवसरमा आयोजित कार्यक्रमको प्यानल सत्रमा गोल्छाले निजी क्षेत्रसँग सहकार्यबिना आर्थिक विकास सम्भव नहुने जानकारी हुँदा हुँदै पनि यो क्षेत्रसँग सहकार्य गर्न डराउने र हिचकिचाउने प्रचलन किन छ भनेर प्रश्न गरे । ‘निजी क्षेत्रले आर्जन गर्ने नाफामा किन सेलिब्रेशन गर्न सकिँदैन ?।’ उनले भने ।

नेपाल चम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले राजनीतिक मुद्दा फरक भए पनि आर्थिक मुद्दामा सरकारको एउटै धारणा र एकरूपता हुनुपर्नेमा जोड दिए । सरकारले निजी क्षेत्रको कस्तो साथ र सहकार्य चाहन्छ स्पष्ट हुनुपर्ने बताए । अहिले आर्थिक ऐनको पनि आवश्यकता भएको र आयात प्रतिस्थापनमा पनि काम गर्नुपर्ने उनको धारणा छ ।

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले आर्थिक मुद्दालाई प्राथमिकतामा राख्न आग्रह गरे । अहिले पनि मन्त्रालय–मन्त्रालयबीच हुने असमझदारी र सहकार्य नहुँदा लगानीकर्ताहरूले समस्या खेपेको उनको भनाइ छ ।

सो अवसरमा नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष अनिल उपाध्यायले अहिलेको अर्थव्यवस्था चुनौतीपूर्ण रहेको बताए । ‘आर्थिक वृद्धिदर हासिल गर्ने की आर्थिक स्थायित्व ?’, उनले भने, ‘लगानीयोग्य रकम दीर्घकालिन बनाउनका लागि सरकारले पनि काम गर्नुपर्छ ।’

यसैगरी उनले मौद्रिक नीति समीक्षामा निजी क्षेत्र आक्रामक रहेको पनि बताए । अहिलेसम्म पनि बजेट नीति र मौद्रिक नीतिबाट मार्गदर्शन भएको हो की होइन भन्ने विषयमा अन्योलता देखिएको भन्दै उनले मौद्रिक नीतिले बजेटलाई नै सघाउने रहेको बताए । उनले वैदेशिक लगानी भित्र्याउन सम्झौता हुने तर सोहीअनुसार लगानी ल्याउन नसकिएको उल्लेख गरे ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।