मूल्यवृद्धिसँगको संघर्ष समाप्त भएको छैन, ब्याजदर फेरि बढ्ने छ: पावेल

0
Shares

अमेरिकी केन्द्रीय बैंक–फेडरल रिजर्भ (फेड) का अध्यक्ष जेरोम पावेलले मूल्यवृद्धिसँगको संघर्ष समाप्त नभएको र आगामी समयमा फेडले ब्याजदर बढाउने बताएका छन् ।

बुधबार सम्पन्न फेडको नीतिगत बैठकपछि पावेलले ०.५ प्रतिशतले ब्याजदर बढाएको घोषणा गर्दै सन् २०२३ को सुरुवातमा ब्याजदर ५ प्रतिशत पुग्ने अनुमान गरेका हुन् ।

४० वर्ष यताकै उच्च मुद्रास्फीतिको सामना गरिरहेको अमेरिकाले मूल्यवृद्धि २ प्रतिशत कायम गर्ने लक्ष्य लिएको छ । फेडले बारम्बार ब्याजदर बढाएता पनि अमेरिकाको मुद्रास्फीति दरमा ठूलो सुधार भने आएको छैन ।

अक्टोबर महिनामा ७.७ प्रतिशत रहेको मुद्रास्फीति दर नोभेम्बर महिनामा ७.१ प्रतिशत पुगेको छ । अक्टोबर महिनाअघि ८ प्रतिशत भन्दा उच्च रहेको मुद्रास्फीति दर फेडले आक्रामक रुपमा ब्याजदर बढाउँदा ७.१ प्रतिशतमा झरेको छ ।

फेडले आक्रामक रुपमा ब्याजदर बढाउँदै जाँदा अर्थशास्त्रीहरुले आर्थिक मन्दीके सङ्केत गरिरहेका छन्।

तर पावेलले आफूहरु यतिबेला आर्थिक मन्दीको बारेमा भन्दा बढी मुद्रास्फीति कसरी नियन्त्रण गर्ने भन्ने विषयमा केन्द्रीत रहेको बताए । मुद्रास्फीति नियन्त्रणमा ल्याउने कुनै सजिलो विधि नभएको र नियन्त्रणका लागि गर्न सकिने उपयुक्त उपाय आफूहरुले अपनाइरहेको थपेका छन् ।

ब्याजदर वृद्धि गर्नाले त्यसको प्रभाव बेरोजगारी दरमा पर्ने छ । हाल ३.७ प्रतिशत रहेको बेरोजगारी दर सन् २०२३ मा ४.६ प्रतिशत पुग्ने फेडले प्रक्षेपण गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।