मुलुकको आर्थिक स्वास्थ्य राम्रो बनाउने सरकारको अभियानमा सबैको साथ चाहिएको छ: अर्थमन्त्री

0
Shares

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको आर्थिक स्वास्थ्य राम्रो बनाउने सरकारको अभियानमा सबैको साथ चाहिएको बताएका छन।

कृषि विकास बैंकको ५६औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले खर्च कटौती र मितव्ययितामा विशेष ध्यान दिन आग्रह गर्दै कृषि विकास बैंक कृषि क्षेत्रको मुख्य बैंक बन्न सक्नुपर्ने धारणा राखे ।

“पछिल्ला वर्षमा कृषि क्षेत्रमा लगानी घट्टै गएको र अरु व्यावसायिक क्षेत्रमा लगानी बढ्दै गएको छ । यो अवस्थामा क्रमशः सुधार हुँदै जाओस र कृषि विकास बैंकलाई कृषि क्षेत्रको लिड बैंकका रुपमा हामी देख्न पाऔंँ ।”, उनले भने ।

बैंकको आर्थिक सामथ्र्य र परिस्थिति हेरेर कर्मचारीको सेवा सुविधाको विषयमा बैंक व्यवस्थापनले उपयुक्त निर्णय लिनुपर्ने अर्थमन्त्री पौडेलले स्पष्ट पारे । अहिले सरकार आफैले पनि खर्च कटौती गरेर मितव्ययी बन्न पहल गरिरहेको बेला बैंकले पनि आफ्नो वित्तीय स्वास्थ्यलाई ध्यानमा राख्नुपर्ने पौडेलको भनाइ छ ।

“मितव्ययिता, खर्च कटौती, सुविधा कटौतीका निमित्त सिङ्गो राष्ट्रलाई अपिल गर्नुपर्ने ठाउँमा म छु । हामीले कस्तो खर्च गरिरहेका छौँ र कति आम्दानी गर्ने सामथ्र्य हाम्रो छ भनेर हेर्न जरुरी छ । मुलुकको आर्थिक स्वास्थ्य राम्रो बनाउने सरकारको अभियानमा सबैको साथ चाहिएको छ । खर्च कटौती र मितव्ययितामा तपाईहरु पनि विशेष ध्यान दिनुहोला ।”, अर्थमन्त्री पौडेलले भने ।

अहिले रिक्त रहेको बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा कस्तो व्यक्ति आउँछ भन्नेकुरा बैंकको भविष्यसँग जोडिएको उनले बताए । अहिले बजारमा उपलब्ध सबैभन्दा राम्रा व्यवस्थापकमध्येबाट प्रमुख कार्यकारी अधिकृत चयन गरिने उनको भनाइ छ ।

“व्यावसायिक दक्षता भएको व्यक्तिलाई सिईओको जिम्मेवारी दिएर प्रतिस्पर्धी बैंकका रुपमा अघि बढाउनुपर्नेछ । त्यसका लागि सरकारले सबै तरिकाले सहयोग र समन्वय गर्छ ।”, उनले भने । सरकारको लगानी रहेका बैंकमध्ये कृषि विकास बैंकमा तुलनात्मक रुपमा बढी समस्या देखिनुमा बैंकको व्यवस्थापकीय नेतृत्व प्रमुख कारण रहेको मन्त्री पौडेलको भनाइ छ ।

चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिमा सरकारले लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न नसकेको, गत आर्थिक वर्षको यही अवधिसम्ममा सङ्कलन भएको राजस्वभन्दा यसवर्ष कम सङ्कलन भएको र वैदेशिक सहायता पनि लक्ष्यअनुसार प्राप्त हुन नसकेको मन्त्री पौडेलले बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।