एस एन्ड पी ग्लोबल रेटिङले अडानी ट्रान्समिसनमाथि समीक्षा गर्दा सेयरमूल्यमा गिरावट

0
Shares

विश्वव्यापी रेटिङ संस्था एस एन्ड पी ग्लोबल रेटिङले अडानी ग्रुपको अडानी ट्रान्समिसन कम्पनीमाथि वातावरण तथा सामाजिक सुशासन विषयमा समीक्षा गर्ने घोषणा गरेपछि कम्पनीको सेयरमा गिरावट आएको छ ।

अमेरिकी सर्ट–सेलर रिसर्च संस्था हिडनबर्गले अडानी ग्रुपका कम्पनीहरुमा स्टक म्यानुपुलेसन, कर छली, अकाउन्टिङ फ्रड र वातावरण तथा सामाजिक सुशासन नीति अन्तर्गत काम गरेको निष्कर्षपछि एस एन्ड पीले अडानी ट्रान्समिसनको वातावरण तथा सामाजिक सुशासन विषयमा अनुसन्धान गर्ने भएको हो ।

हाल भारतीय सेयर नियामक–सेक्यसरिटिज बोर्ड अफ इन्डिया (सेबी) ले अडानी ग्रुपमाथि अनुसन्धान गरिरहेको छ । भारतीय नियामक संस्थाहरुले अघि बढाएको अनुसन्धानका क्रममा आएको निष्कर्षलाई समेटेर अनुसन्धान गर्ने एस एन्ड पी ग्लोबल रेटिङ्सले जनाएको छ ।

अडानी ट्रान्समीसन भारतको सबैभन्दा ठूलो पावर ट्रान्समिसन कम्पनी रहेको छ । एस एन्ड पीको उक्त निर्णयपछि अडानी ट्रान्समिसनको सेयर ५ प्रतिशतले घटेको छ ।

सन् २०२३ को जनवरी २४ मा हिडनबर्गले अडानी ग्रुप विरुद्ध प्रतिवेदन सार्वजनिक गरेपछि अडानी ग्रुपद्धारा सञ्चालित विभिन्न कम्पनीहरुको सेयरमा ११० अर्ब बढीको गिरावट आएको छ ।

जनवरी २४ तारेखपछि आजको दिनसम्म अडानी ट्रान्समिसनको सेयर मूल्यमा ६५ प्रतिशतको गिरावट आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।