सञ्चालनमा आएको ५ महिना मै आरएमसी फुड्सको आम्दानी ९४ करोड

0
Shares

आरएमसी ग्रुपको लगानी रहेको आरएमसी फुड्सको सञ्चालन आम्दानी आर्थिक वर्ष २०२३ को पाँच महिनामा नै ९४ करोड पुगेको छ ।

सन् २०२१ मा उद्योगका रुपमा दर्ता भई सन् २०२२ को सेप्टेम्बर महिनाबाट सनफलावर, सोयाबीन तथा पाल्मलीन आयलको प्रशोधन तथा उत्पादन, राइस ब्रान आयल, एसिड आयल तथा चामल, दाल, बेकरी सफ्टनीङको उत्पादन गर्दै आएको छ ।

स्थापनाको छोटो समयमै कम्पनीको सञ्चालन आम्दानी बलियो देखिँदा कम्पनीका अन्य वित्तीय सूचांकहरु पनि बलियो देखिएका छन् । ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज र कर अघिको कम्पनीको नाफा कुल सञ्चालन आम्दानीको ४.२२ प्रतिशत रहेको छ । यस्तै कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको १.६६ गुणा रहेको छ ।

कम्पनीको उद्योग बाराको जीतपुरमा अवस्थित छ । सीमा क्षेत्रबाट नजिक रहेका कारण कच्चा पदार्थको ढुवानीमा लाग्ने खर्चमा समेत बटौती भएको छ भने आयात तथा निर्यातका लागि समेत सहज भएको छ । यस्तै उत्पादन क्षेत्रमा लामो समयसम्म अनुभव बटुलेका मानिसहरु प्रमोटर रहँदा कम्पनीलाई वित्तीय तथा प्राविधिक सहयोग मिलेको छ ।

यस्तै नेपाली भान्सामा प्रयोग हुने सनफलावर आयल, सोयाबिन आयल, चामल तथा दालको माग निरन्तर रहेका कारण कम्पनीको आम्दानी आगामी समयमा अझ सकरात्मक रहने देखिन्छ । तथापि खाद्यान्न उत्पादक कम्पनीहरुमा नवप्रवेसी रहेको आरएमसी फुड्स ग्रुपले बजारमा प्रतिस्पर्धा गर्न सक्छ वा सक्दैन भन्ने विषयमा प्रश्न उठ्छ ।

३ अर्ब ४० करोड बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कम्पनीले रेटिङ गराएको छ । रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले दीर्घकालीन कर्जाका लागि डबल बी माइन्स र अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको छ ।

(आर्थिक वर्ष २०२३ : सन् २०२२ को जुलाई महिनाबाट सुरु भई सन् २०२३ को जुलाई )

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।