काठमाण्डौ उपत्यकामा ट्राफिक प्रहरीले सवारी साधनमा यात्रुलाई जोखिमपूर्ण यात्रा गराउने २१ हजार ५०८ जना चालकलाई कारवाही गरेको छ ।
ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको माघ मसान्तसम्म ढोका खुल्ला राखेर सवारी गुडाँउदै गरेका मात्रै १५ हजार ६२९ जना, क्षमता भन्दा बढि यात्रु राखेर सवारी चलाउने ५ हजार ८०२ जना र यात्रुलाई टेम्पोको पछाडि झुण्ड्याएर यात्रा गराउने ७७ जना चालकहरू कारवाहीमा परेका हुन् ।
काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टले ढोका खुल्ला राखेर सवारी साधन गुडाउँदा परिचालक तथा यात्रु ढोकाबाट खसेर दुर्घटना हुने भएकाले जोखिम न्यूनीकरणका लागि कारवाहीलाई तिव्रता दिइएको बताए ।
ढोका खुल्ला राखेर सवारी गुडाँउदै गरेर कारवाअी पर्ने चालहरुको संख्या साउन महिनामा २ हजार ६८३ जना, भदौमा २ हजार ८७३, असोजमा ७ ४९, कार्तिकमा १ हजार ८२६, मंसिरमा २ हजार ८२६, पुसमा २ हजार ७३४ र माघ महिनामा १ हजार ९३८ जना चालक रहेका छन् ।
यस्तै क्षमता भन्दा बढि यात्रु राखेर सवारी चलाउँदै गरेको अवस्थामा ट्राफिक प्रहरीले ५ हजार ८०२ जना चालकलाई पनि कारवाही गरिएको हो । जसमा साउन महिनामा ७०९, भदौमा १ हजार ३४, असोजमा ७४९, कार्तिकमा ७५९, मसिरमा ७५९, पुसमा १ हजार ११ र माघ महिनामा ७८१ जना चालकलाई कारवाही गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै ७७ ओटा टेम्पो चालकलाई पनि ट्राफिक प्रहरीले कारवाही गरेको छ । टेम्पोको पछाडि यात्रुलाई झुण्ड्याएर यात्रा गराएको पाइएपछी उनीहरूलाई कारवाही गरिएको हो । क्षमता भन्दा बढी यात्रु राख्दा सवारी साधन अनियन्त्रित भई दुर्घटना हुने जोखिम रहने हुँदा क्षमता भन्दा बढी यात्रु नराख्न यतायात व्यवसायीलाई र सवारी साधनमा कोचिएर तथा झुण्डीएर यात्रा नगर्न यात्रुलाई प्रवक्ता भट्टले अनुरोध गरेका छन् ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ मा सवारीमा बस्ने वा राख्ने मानिस तथा मालसामानको हद निर्धारण गरिएकोमा सो हद भन्दाबढी राखेर सवारी साधन चलाएमा र लापरवाहीका साथ सवारी साधन चलाएमा यातायात निरीक्षक तथा प्रहरीले तत्काल १५ सय रुपैयाँसम्म जरिवाना गर्ने सक्ने व्यवस्था रहेको छ ।
प्रतिक्रिया