भन्सार नाकामा थन्किएका सवारी साधनहरु सहज छुटाउन नाडाको आग्रह

0
Shares

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले भन्सार नाकाहरुमा लामो समय देखि रहेका सवारीका साधनहरु छुटाउन आग्रह गरेको छ ।

नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा बिहीबार प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढासंग भेटगरी भन्सार नाकाहरुमा लामो समय देखि रहेका सवारीका साधनहरु सहज निकासका लागि आग्रह गरेको हो।

उक्त छलफलमा नाडाका अध्यक्ष थापाले सरकारले सवारी साधनहरुको आयातमा लगाएको प्रतिवन्ध खुलाए पनि सो आयात प्रतिवन्ध लगाउनु अघि देखि नै नेपाल राष्ट्र बैंकले लागु गरेको अटो लोन/हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा नल्याएसम्म सवारी साधनहरुको खरिद विक्रीमा कुनै सुधार हुन नसकेको भन्दै यसै कारण सवारी साधन पैठारीकर्ताहरुले भन्सार नाकाहरुबाट आफना सवारी साधनहरु उठाउन नसकेको स्पष्ट पारे।

सोही क्रममा नाडाका उपाध्यक्ष निराकार श्रेष्ठले कार जीप र भ्यान जस्ता सवारी साधनहरुको बजार वार्षिक १७/१८ हजार रहेकोमा अहिले त्यो घटेर ७/८ हजारमा झरेको उल्लेख गर्दै कूल सवारी साधनहरुको विक्रीे ८५ प्रतिशतसम्म बैंक ऋणबाटै हुने गरेको बताए ।

त्यसैगरी सो छलफलमा नाडाका सहकोषाध्यक्ष पंकज अग्रवालले एल.सि खोलेर ल्याएका स्पेयर पार्टसहरुको मूल्याङ्कनमा पनि समस्या आईरहेकोले पैठारीकर्ताले पेश गरेको विल मूल्यलाई मान्यता दिन आग्रह गर्दे सन्दर्भ मूल्य सूचिले व्यवसायीहरुलाई धेरै समस्या परिरहेको भन्दै सो सन्दर्भ मूल्य सूचिलाई खारेज गर्नु पर्ने धारणा राखे ।

उक्त छलफलको अन्तमा महानिर्देशक चक्रबहादुर बुढाले भन्सार नाकाहरुमा रहेका सवारी तथा ढुवानीका साधनहरुको सम्बन्धमा मन्त्रालयमा समेत पटक पटक छलफल भईसकेको जानकारी दिए । नेपालका कुन कुन भन्सार नाकाहरुमा के कस्ता ब्राण्डका के कति संख्यामा सवारीका साधनहरु (दुई पाँगे्र तथा तीन पाँग्रे वाहेक) भन्सार परिसरमा छुटाउन बाँकी रहेका छन् त्यसको विवरण यथाशीघ्र विभागमा पठाई दिन अनुरोध समेत गरे । यसै क्रममा महानिर्देशक बुढाले विभागले छिटै मूल्याङ्कन गोष्ठिको आयोजना गर्न लागेको समेत जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।