चीनमा औद्योगिक गतिविधिले तीव्रता पाउँदा सूचांक १० वर्ष यताकै उच्च

0
Shares

चीनले शून्य कोभिड नीति खुकुलो बनाउँदा औद्योगिक गतिविधिहरुले तीव्र गति लिएका छन् ।

चिनियाँ राष्ट्रिय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चीनको पर्चेसिङ म्यानेजर्स सूचांक फेब्रुअरी महिनामा ५२.६० पुगेको छ जुन सन् २०१२ अप्रिल महिना यताकै उच्च हो ।

यस अघि जनवरी महिनामा उक्त सूचांक ५०.१० थियो । विश्लेषकहरुले फेब्रुअरी महिनामा पर्चेसिङ म्यानेजर्स सूचांक बढेर ५०.५० पुग्ने अनुमान गरेका थिए । तथापि विश्लेषकहरुको अनुमानलाई पछि पार्दै सूचांक १० वर्ष यताकै उच्च बिन्दुमा पुगेको हो ।

सन् २०१९ को डिसेम्बर महिनादेखि चीनको युहान सहरबाट विश्वभर फैलिएको कोभिड महामारीका कारण चीनले महामारी नियन्त्रणका लागि शून्य कोभिड नीति अपनाएको थियो । विश्वभर कोभिड–१९ संक्रमण नियन्त्रणमा आइसक्दा पनि चीनमा विभिन्न भेरियन्टहरुको संक्रमण फैलिएको थियो । चीनले अपनाएको शून्य कोभिड नीतिका कारण उद्योग, कलकारखाना तथा बोर्डरहरु बन्द रहेका थिए । तथापि सन् २०२२ को अन्त्यमा चीनले शून्य कोभिड नीति खुकुलो बनाएपछि चीनमा औद्योगिक गतिविधिहरुले तीव्र गति लिएको छ ।

कोभिड–१९ संक्रमण र शुन्य कोभिड नीतिका कारण सन् २०२२ मा चीनको आर्थिक वृद्धिदर पच्चीस वर्ष यताकै कमजोर रहेको थियो । तथापि शून्य कोभिड नीति खुकुलो पारेपछि विश्लेषकहरुले गरेको अनुमानलाई उछिन्दै चीनमा औद्योगिक गतिविधिहरु सञ्चालनमा आएका छन् ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र चलायमान भएसँगै एशियाली सेयर बजारमा पनि सकरात्मक प्रभाव परेको छ भने अष्ट्रेलियन डलर लगायतका मुद्राहरुको क्रय क्षमता पनि वृद्धि भएको छ ।

सुधारन्मुख रहेको चिनियाँ अर्थतन्त्रले एशियाली लगानीकर्ताहरुमा थप जोश भरेको छ, जसकारण एशियाली सेयर बजारमा समेत सकारात्मक सुधार देखिएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।