गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडान भरेको जजिरा एयरवेजले फागुन २५ गतेदेखि निर्धारित उडानहरु पुनः सुचारु गर्ने घोषणा गरेको छ ।
यात्रुको सङ्ख्या घट्दै गएपछि पुस ३ गतेदेखि अन्तर्राष्ट्रिय उडान बन्द गरेको जजिरा एयरलाइन्सले फागुन २५देखि एक सातामा ३ वटा उडान भर्ने भएको हो ।
जजिराले भैरहवाबाट कुवेतको लागी मंगलबार, बिहीबार र शनिबार नेपाली समय अनुसार बिहान ८ः०५ बजे उडान भर्नेछ । यस्तै कुवेतमा स्थानीय समय अनुसार बिहान १०ः५५ बजे अवतरण गर्ने छ । जजिराले प्रारम्भिक उडानहरुमा विशेष छुट दिएको छ । भैरहवादेखि कुवेतसम्म यात्रुहरुले २८ हजार ८३६ रुपैयाँमा उडान भर्न सक्नेछन् ।
नेपाल स्थित जजिरा एयरवेजका जनरल सेल्स एजेन्ट तथा सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेस्का अध्यक्ष रविचन्द्र सिंहले नेपालको समग्र पर्यटन प्रर्वद्धन र मध्यपूर्वमा बस्ने नागरिकहरुलाई लुम्बिनीको महत्व दर्साउँदै उनीहरुलाई नेपाल आउन सहज वातावरण बनाउन आफूहरुले उडान सुचारु गरेको बताए ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठ २ गतेदेखि जजीरा एयरलाइन्सले उडान सुरु गरेको थियो । भैरहवाबाट अन्तर्राष्ट्रिय उडान भर्ने पहिलो एयरलाइन्स एयर जजिरा रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया