भारतबाट ग्याँस प्रतिसिलिण्डर ३३९ रुपैयाँले बढेर आयो, पेट्रोल र डिजेलको घट्यो

0
Shares

भारतबाट बुधबार एकैपटक ग्याँसको मूल्य प्रतिसिलिण्डर ३३९ रुपैयाँ ६ पैसाले बढेर आएको छ । ग्याँसको मूल्य बढेर आएपनि नयाँ मूल्यलाई आधार मान्दा निगम अझै ४४ करोड रुपैयाँ नाफामा रहने निगम स्रोतले जनाएको छ ।

खाना पकाउने एजपीजी ग्याँसको मूल्य बढेर आएको छ भने बाँकी इन्धनको भाउ भने यस पटक घटेर आएको छ । इण्डियन आयल कर्पोरेसन (आईओसी) ले बुधबार नेपाल आयल निगमलाई पठाएको मुल्य सूची अनुसार डिजलको मूल्य लिटरमा ५ रुपैयाँ ५० पैसा र पेट्रोल प्रतिलिटर १ रुपैयाँ २१ पैसाले घटेर आएको छ । यस्तै मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ ४० पैसा र हवाइ इन्धनमा प्रतिलिटर ७ रुपैयाँ ३० पैसा घटेर आएको छ ।

इण्डियन आयल कर्पोरेसनले हरेक १५ दिनमा आयल निगमलाई नयाँ मूल्य सूची पठाउने गरेको छ । अब बस्ने निगम सञ्चालक समितिको बैठकले घटेको मूल्यलाई आधार मान्दा नेपालमा मूल्य घटाउने कि नघटाउने सम्बन्धमा निर्णय गर्नेछ । भारतबाट मूल्यसूची बढेर आउँदा मूल्य बढाएर सूची सार्वजनिक गर्ने निगमले घट्दा भने घटाउन तयार नहुने गरेको छ ।

आईओसीको बक्यौता तथा सरकारलाई ऋण तिर्न बाँकी रहेको भन्दै निगमले मूल्य घटाउन चासो देखाउने गरेका छैनन्। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटबढ भइरहँदा त्यसको असर नेपालमा पनि देखा पर्ने गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।