पाँच कारोबार दिनमा ८८.९४ अंकको गिरावटपछि मंगलबार नेप्सेमा दोहोरो अंकको बढोत्तरी भएको छ । आज बजार सूचक नेप्से १४.४१ अंकले बढेको हो ।
मंगलबार सुरुवातदेखि नै बढ्न थालेको बजारले आधा घण्टापछि बजारले लय समातको थियो । त्यसपछि केही उतार–चढावकाबीच मंगलबारको बजार बन्द भएको छ । लामो समय घटेको बजार बढेपछि लगानीकर्तामा आशाको सञ्चार बढेको छ ।
मंगलबार नेप्से १४.४१ अंकले बढेर १९५२.६६ बिन्दुमा पुगेको हो । यसदिन २६१ कम्पनीका ४० लाख ५९ हजार १४९ कित्ता सेयर २४ हजार ३७३ वटा संख्यामा खरिद बिक्री हुँदा कारोबार रकम १ अर्ब २० करोड ४४ लाख ९ हजार ४११ रुपैयाँमा खरिद बिक्री भएको छ ।नेप्से बढेपछि लगानीकर्ताहरु बजार कति दिगो हुन्छ भन्नेमा सशंकित बन्दा सेयर कारोबार रकम भने सवा अर्बभन्दा कममा समेटिएको हो ।
आज साल्ट ट्रेडिङ्ग कर्पोरेसनको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको १२ करोड ७ लाख रुपैयाँ बढीको सेयर खरिद बिक्री भएको हो । यस्तै हिमालयन डिष्टिलरीको ९ करोड ३९ लाख, लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छिमेक लघुवित्तको ५ करोड ४५ लाख, शिवम् सिमेन्टसको ३ करोड ११ लाख र एनआईसी एशिया बैंकको ३ करोड २ लाख रुपैयाँ मूल्यको सेयर खरिद बिक्री भएको छ ।
मंगलबारको बजारमा दुुई कम्पनीको सेयरमूल्य सकारात्मक सर्किट लेबलमा बढेको छ । आजदेखि कारोबारमा आएको शुभम् पावर र आइतबारदेखि कारोबार खुलेको सुपर मादी हाइड्रोपवारको सेयरमूल्य १० प्रतिशत हाराहारीमा बढेको हो । मूल्य बढेसँगै शुभम् पावरको सेयरमूल्य प्रतिकित्ता २९१.५० रुपैयाँ र सुपर मादी हाइड्रोपवारको ३६१.७० रुपैयाँ पुगेको छ ।
यस्तै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ को इकाईमूल्य ८.०२ प्रतिशत, इमर्जिङ्ग नेपालको ५.८० प्रतिशत र स्वाभिमान लघुवित्तको सेयरमूल्य ५.२४ प्रतिशतले बढेको छ ।
उता सिवाईसी नेपाल लघुवित्तको सेयरमूल्य ५.१८ प्रतिशतले घटेको छ भने नबिल इक्वीटी फन्डको इकाईमूल्इ ३.८५, समीट लघुवित्त ३.४३, कुमारी धनवृद्धि योजनाको इकाई ३.०३ र सामलिङ्ग पावर कम्पनी लिमिटेडको मूल्य २.५३ प्रतिशतले घटेको छ ।
बजार बढेसँगै मंगलबार कुल बजार पुँजीकरण २८ खर्ब २८ अर्ब २४ करोड २८ लाख रुपैयाँमा समेटिएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया