उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगले आज बिहान ९ बजेदेखि अपराह्न २ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समयसीमा तय गरेको थियो ।
सहायक निर्वाचन अधिकृत अमृता कुमारी शर्माका अनुसार तोकिएको समयभित्र चार जनाको उम्मेदवारी परेको हो । नेकपा (एमाले) का तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गरेकी छिन् ।
यस्तै १० दलीय सत्तारुढ गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी नेपालका दुई जनाले उम्मेदवारी दर्ता गराएको छ । जसपाको तर्फबाट रामसहाय प्रसाद यादव र प्रमिला यादवको उम्मेदवारी परेको छ । निर्वाचन आयोगले राष्ट्रपति पुरुष निर्वाचित भएपछि उपराष्ट्रपति महिला हुनुपर्ने जनाएपछि दुई जनाको उम्मेदवारी परेको बताइएको छ ।
यस्तै जनमत पार्टीको तर्फबाट ममता झाको उम्मेदवारी परेको छ । आइतबारसम्म गठबन्धनले आधिकारिक उम्मेदवार तय गर्ने बताइएको छ । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै जनमत पार्टीका अध्यक्ष सिके राउतले सत्ता गठबन्धनको तर्फबाट आइतबारसम्म साझा उम्मेदवार तय हुने बताए ।
संविधानबमोजिम राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्ग वा समुदायबाट प्रतिनिधित्व हुने व्यवस्था छ । राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल खस आर्य समावेशी समूहका उम्मेदवार निर्वाचित भएकाले उपराष्ट्रपतिमा त्योभन्दा फरक लिङ्ग वा समुदायको व्यक्ति हुनुपर्ने छ ।
उपराष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचकमण्डलबाट हुनेछ । उपराष्ट्रपति निर्वाचनमा मतदाताको सङ्ख्या सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ कायम छ । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।
आगामी चैत ३ गते उपराष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ । राष्ट्रपतिमा भने सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया