मुलुकको अर्थतन्त्रलाई उद्दार गर्न तत्काल संरचनागत सुुधार सहितको पहल आवस्यक रहेको जानकारहरुले बताएका छन् । राष्ट्रिय आर्थिक सरोकार समाजले शुक्रबार काठमाडौँमा आयोजना गरेको ‘दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मलेन, २०७९’ कार्यक्रमका वक्ताले अहिलेको कार्यशैली र तौरतरिकाबाट समस्या समाधान हुन नसक्ने भएकाले अर्थतन्त्रको पुनःसंरचना आवस्यक रहेको धारणा राखेका हुन् ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकस्तरमा अहिलेको जस्तो निराशा आपूmले पहिले कहिल्यै नदेखेको बताए । “अर्थतन्त्रका सूचक र तथ्यतथ्याङ्कले के भन्छन् भन्दा पनि अवस्थालाई समग्रतामा हेर्ने हो । अहिलेको अवस्थालाई नागरिकले कसरी हेरिरहेका छन् भन्नेकुरा मुख्य हो । अहिले नागरिक आत्तिएका छन् । यति धेरै मानिस एकैपटक यसरी आत्तिएको मैले पहिले देखेको थिइन ।” कांग्रेस महामन्त्री थापाले भने ।
अर्थतन्त्रमा अहिले देखिएका समस्या एकैपटक आएको नभइ लामो समयदेखि समाधान नभएका समस्या थपिँदै गएको पनि थापाको भनाइ छ । “हाम्रो अर्थतन्त्रमा हामीले लामो समयदेखि पन्छाउँदै आएका समस्या थुप्रिएका छन् । यी समस्या उत्पादनसँग जोडिएका छन् । युवा विदेश जाने र त्यहाँबाट पठाएको पैसाले वस्तु आयात गरेर उपभोग गर्ने समस्या रहेको छ ।”, उनले भने ।
नेपालका राजनीतिज्ञमा अर्थतन्त्रबारे निकै कम ज्ञान हुने गरेको पनि थापाको भनाइ छ । “राजनीतिज्ञले अर्थतन्त्रका आयाम केलाउँदैन् । उनीहरुले जनतालाई गरेका वाचा हेर्छन् । राज्यको स्रोत एकातिर हुन्छ, राजनीतिज्ञहरुलाई जसरी पनि जनताका आकांक्षा पूरा हुनुपर्छ भन्ने छ । यसकारण राजनीतिज्ञलाई अर्थतन्त्रका बारेमा बुझाउन आवस्यक छ ।”, उनले भने । गृह प्रशासन निरीह हुँदा चोरी पैठारी मौलाएको पनि उनको भनाइ छ ।
सोही कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता विजय पौडेलले नेपालको आर्थिक स्थिति जटिल बिन्दुबाट गुज्रिरहेको बताउँदै आन्तरिक उत्पादन वृद्धिमा जोड दिइनुपर्ने बताए । उत्पादन बढाउने विगत देखिका योजनाको लक्ष्य प्राप्त गर्न नसकेको पौडेलको भनाइ छ । “विगतदेखि उत्पादन बढाउने योजना प्रभावकारी हुन सकेनन् । सरकार र हाम्रा निकायले निर्धारण गरेका लक्ष्यप्रति उनीहरु जवाफदेही हुनुपर्छ ।” पौडेलले भने । राजनीतिक दलले आफू सरकारमा हुँदा अर्थतन्त्र ठिक छ भन्ने र प्रतिपक्षले गम्भीर अवस्थामा छ भन्ने प्रवृत्ति कायम रहेको पनि उनले बताए । त्यस्तै, अहिले उद्योगी व्यवसायीले निराशाको मात्रै कुरा गरिरहेको पनि पौडेलको भनाइ छ ।
राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुँयालले नेपालले आफ्नो सामथ्र्य पहिचान गरेर स्रोतसाधनको अधिकतम उपयोगमार्फत् उत्पादन बढाउनतर्फ ध्यान दिनुपर्ने बताए । नेपालले तुलनात्मक लाभका वस्तुको पहिचान गरी त्यस्ता वस्तुको उत्पादन बढाउनुपर्ने उनको भनाइ छ ।
“उपलब्ध स्रोत साधनको परिचालनमार्फत् उत्पादन र उत्पादकत्व बढाउँदै लैजाने नीति लिइनुपर्छ । तुलनात्मक लाभका वस्तु उत्पादन गरी अन्तर्राष्ट्रिय बजारमा जान सक्नुपर्छ ।” उनले भने । उत्पादन र उत्पादकत्व बढाउने गरी वित्तीय दक्षता कायम गर्न आवस्यक रहेको पनि उनले बताए ।
त्यस्तै, बजेट विनियोजनमा कुशलता र कार्यान्वनयमा दक्षताको विषयलाई गम्भीरतापूर्वक लिइनुपर्ने फुँयालको भनाइ छ । प्राथमिकताका क्षेत्र पहिचान गरेर चाडो नतिजा दिने आयोजनालाई बजेटको प्राथमिकतामा राख्नुपर्ने पनि फुँयालले बताए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया