सन् २०२३को फेब्रुअरी महिनामा अर्जेन्टीनाको मुद्रास्फीति दर १०२.५ प्रतिशत पुगेको छ । यो मुद्रास्फीति दर सन् १९९० यताकै उच्च हो।
लामो समयदेखि आर्थिक संकटबाट गुज्रिरहेको अर्जेन्टीनामा खाद्यान्न तथा पिय पदार्थको मूल्यमा भएको वृद्धिका कारण अधिकांश मानिसहरु गरिबीको रेखामुनि रहेका छन् ।
खाद्यान्नको मूल्यवृद्धि नियन्त्रणका लागि अर्जेन्टीनाले मूल्य तोक्ने कार्य गरिरहेको छ । तथापि सरकारको उक्त प्रयास सफल हुन सकेको छैन । जनवरी महिनाको तुलनामा फेब्रुअरी महिनामा मात्रै अर्जेन्टीनामा खाद्यान्न र पिय पदार्थको मूल्य ९.८ प्रतिशतले बढेको छ । जसकारण मुद्रास्फीति दर ३३ वर्ष यताकै शीर्ष विन्दुमा पुगेको हो ।
यस्तै अर्जेन्टीनामा मासुको मूल्य जनवरी महिनाको तुलनामा फेब्रुअरी महिनामा २० प्रतिशतले बढेको छ र जलवायु परिवर्तनका कारण मौसम अनुकूल नहुँदा कृषि उत्पादनमा समेत भारी गिरावट आएको अर्जेन्टीनाका समाचार माध्यममा उल्लेख छ ।
उच्च मुद्रास्फीतिको सामना गरिरहेको अर्जेन्टीनी सरकार विरुद्ध मुद्रास्फीति नियन्त्रणको आह्वान गर्दै सर्वसाधारणले गत सेप्टेम्बर महिनामा विरोध प्रर्दशनी गरेका थिए । मुद्रास्फीति नियन्त्रणका लागि अर्जेटिनाको केन्द्रीय बैंकले २ हजार पेसो बराबरको नोट जारी गर्ने निर्णय गरेको थियो ।
यद्यपि पछिल्लो समयमा अर्जेन्टीनाका अर्थमन्त्री ३ पटक फेरिएका छन् । आर्थिक संकट गहिरिँदै गएपछि अर्थमन्त्रीहरुले राजीनामा दिने शिलशिला बढेको छ । जसकारण कुनै ठोस कदम नउठाउँदा मुद्रास्फीति दर आकाशिएको छ ।
संकटग्रस्त अर्जेन्टीनालाई अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले गत डिसेम्बर महिनामा ६ अर्ब डलर सहयोग रकम हस्तान्तरण गरेको थियो । आर्थिक अवस्था सुधारका लागि आइएमएफले अर्जेन्टीनालाई विभिन्न समयमा सहयोग गर्दै आएको छ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया