सबै तहका उद्योगी र व्यवसायीको पहुँच महासंघमा पुर्याउँछु : वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठ

Parmeshwor Adhikari
0
Shares

नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई) को आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठले आफुले संस्थाको व्यवसायीक क्षमता अभिवृद्धिका साथै संस्थागत प्रभावकारीता बढाउन काम गर्ने बताएका छन् ।

वरिष्ठ उपाध्यक्षका प्रत्याशी श्रेष्ठले शनिवार धनगढीमा आयोजित नेपाल उद्योग बाणिज्य महासंघ सुदुरपश्चिम प्रदेशको छैटौं प्रदेश सभामा यस्तो बताएका हुन् । आफ्नो नेतृत्वमा व्यवसायीहरुको समस्यारुपी घाउमा मल्हम लगाउन र पिडामा रहेको व्यवसायलाई उकास्न भूमिका निभाउने पनि बताए ।

“अर्थतन्त्र लथालिङ्ग भएको अवस्थामा व्यवसायीका समस्याहरु सुनिनुपर्दछ र यसको लागि महासंघलाई सबै तहका उद्योगी व्यवसायीहरुको पहुँच हुनेगरी काम गर्नुपर्दछ,” वरिष्ठ उपाध्यक्षका प्रत्याशी श्रेष्ठले भने, “करका विषय नापतौल र मिसम्याचका विषयलगायत ऋण तिर्ने जस्ता आर्थिक समस्या छन् । यस्ता विषयहरुलाई सम्बोधन गर्न भनेर नै मैले विज्ञसहितको टिम तयार गरेको छु।”

श्रेष्ठले सुदुरपश्चिम प्रदेशमा पर्यटन र कृषिको अथाह संभावना रहेको भन्दै यसलाई बिस्तार गर्न पनि युवा र जुझारु नेतृत्व चाहिने बताए ।

“मैले लामो समयदेखि महासंघको विभिन्न तहमा बसेर कार्य गर्दै आएको छु । यसले मलाई उद्योगी व्यवसायीहरुको समस्या बुझ्न सहयोग गरेको छ,” श्रेष्ठले भने, “मेरो टिम अन्तरगतका विभिन्न उपाध्यक्ष तथा अन्य सदस्यहरु समेत समावेशी युवाहरु छन् ।”

आफ्नो टिमको तर्फबाट जिल्ला/नगर तर्फको उपाध्यक्षमा अरुणराज सुमार्गी, वस्तुगत उपाध्यक्षमा मनिषलाल प्रधान तथा एसोशिएट्स उपाध्यक्षमा ज्योत्सना सुब्बा श्रेष्ठ उम्मेदवार रहेको उनले जानकारी दिए ।

उनले आफूले महासंघमा लामोसमदेखि विभिन्न भूमिकामा रहेर नयाँ विषयहरु सिक्दै रहेको र अन्य साथिहरुलाई समेत सिकाउँदै आएको बताएका थिए ।

श्रेष्ठले आफूले व्यवसायीहरुको पिडालाई सम्बोधन गर्नकै लागि र लथालिङ्ग अर्थतन्त्रलाई सम्हाल्नेगरी प्लेटफर्म तयार पारेको भन्दै त्यसमा सहकार्य र सहभागी हुन आग्रह गरे ।

“मेरो नेतृत्वमा तपाईँहरुलाई संस्थाको हरेक कार्यमा आबद्धता गराउने र अपनत्व दिलाउने प्रतिबद्धता व्यक्त गर्दछु, आउनुस् सबै मिलेर सहकार्य गरौं,” उनले भने ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।