सहकारीमा स्वनियमन अपरिहार्य,नारामा मात्रै सीमित नहोस्: प्रधानमन्त्री

0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारीमा स्वनियमन नारामा मात्रै सीमित भएको भन्दै व्यवहारमा लागू गर्न सहकारीलाई निर्देशन दिएका छन् । सहकारीले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेको भन्दै सहकारीमा स्वनियमन अपरिहार्य भएको बताए ।

राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजना गरेको तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनमा बोल्दै प्रधानमन्त्री दाहालले पछिल्लो समय सहकारीको काम कारबाहीमा केही प्रश्न उठिरहेकोले स्वनियमन आवश्यक रहेको बताए ।

सहकारी संस्थाहरुप्रति उठेका सवालहरुको विषयमा गहन छलफल गरेर महासम्मेलनले निश्कर्ष निकाल्नु पर्ने धारणा राखे । ‘सहकारीमा देखिएको समस्याहरुको कारण आम नागरिकहरु प्रभावित छन्, यस चुनौतीपूर्ण अवस्थाबाट बाहिर निस्कन यो महासम्मेलनले उचित निश्कर्ष निकाल्नु पर्छ, सहकारीलाई उत्पादन र श्रमसहकारीमा रुपान्तरण गर्नुपर्छ’, प्रधानमन्त्री दाहालले भने । वित्तीय क्षेत्रमा देखा परेको तरलताको प्रभाव सहकारीमा पनि देखिएको बताउँदै बचतकर्ताको पैसा सुरक्षित राख्नु पर्ने हामी सबैको दायित्व भएको बताए ।

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सहकारी क्षेत्रलाई नयाँ उचाईमा पुर्याउन महासम्मेलन कोशेढुंगा सावित बताए ।

आजबाट सुरु भएको महासम्मेलन २५ गतेसम्म सञ्चालन हुनेछन् । कार्यक्रममा ११ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषय विज्ञबाट कार्यपत्र प्रस्तुत हुनेछन् । महासम्मेलनमा ७० जिल्लाका करिब १ हजार जनाको सहभागीता रहेको छ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।