अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी बजेटमा नयाँ कार्यक्रमलाइ न्यून स्थान दिइने बताएका छन् । उनले स्रोत बिना नै कार्यक्रम उल्लेख गर्ने परम्पराको अन्त्य गरी आर्थिक गतिविधि बढाउने गरी नयाँ बजेट ल्याउने जानकारी दिएका हुन् ।
आर्थिक पत्रकारहरुसंग छलफल गर्दै अर्थमन्त्री महतले अहिले अर्थतन्त्रमा केही समस्या आएको भएपनि समाधान गर्न सकिने अवस्था रहेको बताए । बजार र राजश्वमा समस्या आएको बताउँदै मन्त्री महतले भने, “बजारमा माग बढ्न सकेको छैन भने व्यवसायीक विश्वास कमजोर भएको छ ।” अहिले अर्थतन्त्रमा केही समस्या देखिएको भएपनि श्रीलंकाको जस्तै अवस्था नभएको उनको बुझाई छ ।
पछिल्लो समयमा राजस्व संकलनमा आएको कमीलाई सुधार गर्न गृह मन्त्रालयसँग समेत सहकार्य गरेर चुहावट नियन्त्रणका लागि सशक्त पार्ने काम अघि बढेको मन्त्री महतले जानकारी दिए । बैंकिङ प्रणालीको ब्याजदर उच्च भएकाले पनि केही समस्या आएको बताउँदै उनले भने, “यस सन्दर्भमा पनि नेपाल राष्ट्र बैंकसँग छलफल भएको छ ।”
सरकारले आगामी दिनमा प्राथमिकिकरणका आधारमा काम गर्ने उनको भनाई छ । सबैलाइ चित्त बुझाउने स्रोत बिना नै योजना बजेटमा राख्ने कामले जटिलता सृजना गरेको उनको बुझाई छ । “सरकारले हरेक वर्ष लक्ष्य बढाउँदै लगेको छ,” उनले भने राजस्व संकलनको लक्ष्य बढाउने मात्र नभई चुहावलाई नियन्त्रण गर्ने तथा नयाँ क्षेत्रलाइ पनि ध्यान दिनुपर्ने हुन्छ ।”
पछिल्लो समयमा विदेशी सहयोग कसरी बढाउने भन्ने कुरा भैरहेको बताउँदै उनले भने, “आएको विदेशी सहयोगको समेत उपयोग हुन सकेको छैन । उपयोग गर्न नसक्ने भएपछि सहयोगको आकार मात्र बढाएर पनि भएन ।”
आगामी आवको बजेटका लक्ष्यहरु वास्तविकता उन्मूख हुने उनको भनाई छ । अनावश्यक क्षेत्रको खर्च रोकेर उच्च उत्पादनशीलतातर्फ केन्द्रीत गर्ने योजना रहेको उनले बताए । अर्थतन्त्रको देखिएको समस्यालाई क्रमिक सुधार गर्दै जाने बताउँदै उनले भने, “आगामी बजेट मार्फत अर्थतन्त्रलाई लाइनमा ल्याउने प्रयास गरिएको खण्डमा त्यसपछिका वर्षदेखि सुधारको बाटोमा लैजान सकिन्छ ।”
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया