साधारण खर्चमा मितव्ययिता अपनाउँदै पुँजीगत खर्च बढाउने गरी आगामी वर्षको बजेट निर्माण हुने

0
Shares

सरकारले साधारण खर्चमा मितव्ययिता अपनाउँदै पुँजीगत खर्च बढाउने गरी आगामी वर्षको बजेट निर्माण गर्ने भएको छ ।

शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले अर्थ मन्त्रालयमा अर्थमन्त्रीसँग गरेको छलफल कार्यक्रममा अर्थमन्त्री महतले बजेट बनाउँदा साधारण खर्चमा मितव्ययिता अपनाउँदै पुँजीगत खर्च बढाउने विषयमा प्राथमिकता दिने बताए ।

अर्थमन्त्री डा.महतले सरकारले साधारण खर्च घटाउने सम्भावना कम भए पनि खर्च नगरे पनि हुने खालका कार्यक्रमको खर्चलाई कटौती गर्ने उल्लेख गरे । आगामी बजेट निर्माण गर्दा मन्त्रालयगत धेरै आयोजनाहरुको माग आए पनि प्राथमिकताको आधारमा बजेटमा समेट्ने बताए । उनले सरकारको पुँजीगत खर्चमा समस्या देखिएको भन्दै पुँजीगत खर्च समयमा खर्च गर्ने प्रणालीको विकास गर्नु आवश्यक रहेको बताए ।

‘सरकारले साधारण खर्चमा अत्यधिक मितव्ययिता अपनाउनुपर्छ भन्ने पक्षमा छौँ । धेरै मागहरु आए पनि धेरै कम गर्न कोशिस गर्छौं । साधारण खर्च कम गर्ने स्कोप अत्यन्त कम छ । सामाजिक सुरक्षा भत्ता लगायतको खर्च कम गर्न सम्भव कम छ । सरकारले खर्च नगरे पनि फरक नपर्ने क्षेत्रहरुमा मन्त्रालयले प्राथमिकताका साथ हेछौं । अहिले सरकारको पुँजीगत खर्चमा समस्या देखिएको छ ।’

उनले भने, ‘पूर्वाधार निर्माणका कार्य समयमा सम्पन्न नहुने, आयोजनाको कष्ट बढ्दै जाने र आयोजना महँगो हुन जाने परिस्थितिको अन्त्य गर्ने गरी सरकारले तयारी थालेको छ । सरकारको ध्यान पुँजीगत खर्च निश्चित समयमा खर्च गर्ने, सीमित स्रोतलाई धेरै आयोजनामा खर्च नगर्ने रणनीति रहेको बताए ।

उनले भने, ‘पुँजीगत खर्च समयमा खर्च नहुनु, पूर्वाधार निर्माणका कार्य समयमा नहुनु, आयोजनाको कष्ट बढ्दै जाने र आयोजना महँगो हुन जाने परिस्थितिको अन्त्य गर्नको लागि पनि काम गर्न जरुरी छ । सरकारको ध्यान पुँजीगत खर्च निश्चित समयमा खर्च होस् ।’

त्यस्तै अर्थसचिव तोयम रायले श्रम रोजगारको क्षेत्रमा रहेका सबैलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने विषयमा केन्द्रित रहेको बताए । उनले सरकार अब लामो समयसम्म सामाजिक सुरक्षा भत्ता दिनसक्ने अवस्था नभएको बताए । उनले सामाजिक सुरक्षा कोष मार्फत योगदानमा आधारित सामाजिक सुरक्षा कोष मार्फत पाउने व्यवस्थामा जान आवश्यक रहेको बताए । उनले सरकारले नाकामा हुने राजस्व चुहावट रोक्नको लागि सरकारले सम्बन्धित निकायहरुलाई निर्देशन दिएको बताए । नेपालमा खुल्ला सीमाना धेरै रहेकाले राजस्व चुहावट भइरहेको स्वीकार गर्दै उनले त्यसलाई नियन्त्रण गर्न सरकारको प्रयास रहेको बताए ।

आजको भेटमा नाफिजको तर्फबाट अध्यक्ष मोदनाथ ढकालले अर्थमन्त्री महतलाई सुझाव समेत दिएका छन् । पत्रकारको क्षमता वृद्धिमा अर्थ मन्त्रालयले ध्यान दिनुपर्ने अध्यक्ष ढकालको भनाइ छ । त्यस्तै मिडियाहरु महामारीका कारण मारमा परेको र त्यसमा हेर्न समेत उनले सुझावको क्रममा बताए । अहिलेको अर्थतन्त्र सम्हाल्न र आगामी बजेट मार्फत सुधारको योजनाहरु ल्याउन सुझाव प्रदान गरिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।