प्रशासकीय अधिकृतविरुद्ध डेढ करोड भ्रष्टाचारको मुद्दा दायर

0
Shares

रौतहटको ईशनाथ नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताविरुद्ध डेढ करोड रुपैयाँ बिगो मागदाबीसहित भ्रष्टाचारको मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी सेवामा रहँदा पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा उनीविरुद्ध १ करोड ४९ लाख ९७ हजार ८६४ रुपैयाँ बिगो दाबी गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

गुप्ताले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको भन्ने उजुरी अख्तियारमा परेपछि अनुसन्धान हुँदा सार्वजनिक सेवा प्रवेश गरेको मिति २०५१ वैशाख २९ गतेदेखि उनले आयोगमा सम्पत्ति विवरण पेश गरेको मिति २०७९ जेठ २५ गतेसम्मको अवधिको सम्पत्ति छानबिन गर्दा १ करोड ४९ लाख ९७ हजार ८६४ रुपैयाँको स्रोत नखुलेको अख्तियारले जनाएको छ ।

यसैगरी निज गुप्ताले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी गैरकानूनी रूपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्ति श्रीमती उषा गुप्ताको नाममा जग्गा खरिद तथा घर निर्माण लगायतमा गरिएका खर्चमध्ये स्रोत पुष्टि हुन नसकेको लागत मूल्य बराबरको सम्पत्ति बिगो र त्यसबाट बढे/बढाएको सम्पत्ति जफत गर्नका लागि उषा गुप्तालाई समेत प्रतिवादी कायम गरी उनको नाममा हाल कायम रहेको सम्पत्तिमध्येबाट बिगो जफत गरी पाउन मागदावी लिएको छ।

पछिल्लो पटक २०७७ वैशाख २९ मा परेको उजुरीको प्रारम्भिक अनुसन्धान गर्दा सम्पत्तिको तालमल नदेखिएपछि अख्तियारले विस्तृत अनुसन्धान गरेको थियो ।

२०५१ वैशाख २९ मा शिक्षा सेवातर्फ प्राविधिक सहायक पदबाट सरकारी सेवा प्रवेश गरेका गुप्ताविरुद्ध अख्तियारले २०७९ जेठ २५ सम्म आर्जन गरेको सम्पत्तिबारे अनुसन्धान गरेको थियो ।

गुप्ताविरुद्ध अख्तियारले १ करोड ४९ लाख ९७ हजार ८६४ रुपैयाँ बिगो, त्यति नै जरिवाना, २ वर्ष कैद सजायँ र स्रोत नखुलेको रकमबाट बढे÷बढाइएको चल अचल सम्पत्ति जफतको मागदाबीसहित आइतबार मुद्दा दायर गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।