आरकेडी होल्डिङ्स कम्पनी लिमिटेडले पनि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीको छैटौँ साधारण सभाले जारी पुँजीको १२ प्रतिशत आईपीओ सेयर सर्वसाधरणका लागि जारी गर्ने निर्णय गरेको हो ।
कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले कम्पनीको पूँजी वृद्धि, स्थानीयवासी तथा सर्वसाधरणलाई लगानीको अवसर दिने उद्देश्यले आईपीओ जारी गर्न साधारण सभाले अनुमति दिएको जानकारी दिए । स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी, सामूहिक लगानी कोष र सर्वसाधारणलाई समेत गरी १२ प्रतिशत सेयर दिने गरी आईपीओ जारी हुनेछ । यसबाहेक संस्थापक सेयरधनीहरुलाई १० प्रतिशत अग्राधिकार सेयर जारी गर्ने निर्णय भएको उनले बताए ।
कम्पनीको अधिकृत पूँजी २ अर्ब रहेको छ भने जारी पूँजी १ अर्ब ५० करोड रहेको छ । कम्पनीमा संस्थापक सेयर पूँजी ७८ प्रतिशत रहेको छ । आरकेडी होल्डिङ अन्तर्गत बन्दीपुर एन्ड टुरिज्म लिमिटेडले पहाडकी रानी भनेर चिनिने बन्दीपुरमा केबुलकार र पाँचतारे होटल, स्काई वाक, बन्जी, जिपलाइन लगायतका पर्यटन पूर्वाधार निर्माण गरिरहेको छ ।
यस्तै पञ्चासे केबुलकार एन्ड टुरिज्म लिमिटेड मार्फत कास्की, पर्वत र स्याङ्जाको सीमानामा पर्ने पर्यटकीयस्थल पञ्चासेमा र बुढीमाँ छिम्केश्वरी केबुलकार लिमिटेड मार्फत तनहुँको छिम्केश्वरीमा केबुलकार निर्माणको प्रक्रिया अगाडि बढाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया