फागुन मसान्तसम्म अर्थतन्त्रः मूल्यवृद्धिले वाञ्छित सीमा नाघ्यो, शोधनान्तर १ खर्ब ४८ अर्ब बचतमा

0
Shares

चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा अर्थतन्त्रका केही सूचकहरु सुधारोन्मुख देखिएका छन् भने केही सूचक झन् खराब हुँदै गएको देखिएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मुद्रास्फीति ७.४४ प्रतिशत पुगेको छ । जुन सरकारले राखेको बाञ्छित सीमाको लक्ष्यभन्दा बढी हो । चालु आवमा मुद्रास्फीति ७ प्रतिशतभन्दा न्यून विन्दुमा राख्ने सरकारको लक्ष्य छ ।

राष्ट्र बैंकका अनुसार फागुन मसान्तसम्ममा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २५.३० र अमेरिकी डलरमा १४.८० प्रतिशतले बढेको छ । यही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ४८ अर्ब ११ करोडले बचतमा रहेको छ । चालु आर्थिक वर्षको ८ महिनामा कूल विदेशी विनिमय सञ्चिति १४ खर्ब एक अर्ब २१ करोड रुपैयाँ बराबर रहेको छ ।

अहिलेको विदेशी विनिमय सञ्चितिले ९.४ महिनाको वस्तु तथा सेवा धान्न सक्ने राष्ट्र बैंकले जनाएको छ । आठ महिना अवधिमा सङ्घीय सरकारको खर्च ७ खर्ब ७९ अर्ब २३ करोड र राजस्व परिचालन ५ खर्ब ८२ अर्ब ७७ करोड बराबर रहेको छ । फागुन मसान्तसम्ममा विस्तृत मुद्राप्रदाय ५.३० प्रतिशतले बढेको छ ।

वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ९.१० प्रतिशतले बढेको हो । यो अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन ५.५ प्रतिशतले बढेको र निजी क्षेत्रमा प्रवाहित कर्जा ४.६० प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्याङ्कबाट देखिन्छ ।

वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १०.५० प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ३.१० प्रतिशत बराबर हो । फागुन मसान्तसम्ममा आयात १९.१० प्रतिशतले, निर्यात २९.१० प्रतिशतले र कूल वस्तु व्यापार घाटा १७.९० प्रतिशतले घटेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।