चन्द्र ढकाल बने महासंघको अध्यक्ष, कार्गो व्यवसायबाट उदाउँदै महासंघ नेतृत्वमा

Parmeshwor Adhikari
0
Shares

चन्द्र प्रसाद ढकाल नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष बनेका छन् । वरिष्ठ उपाध्यक्ष स्तहः अध्यक्ष हुने महासंघको विधानको व्यवस्था अनुसार ढकाल बिहीबारदेखि महासंघको अध्यक्ष बनेका हुन् ।

बिहीबार एक कार्यक्रमकाबिच महासंघका अध्यक्ष शेखर गोल्छाले वरिष्ठ उपाध्यक्ष ढकाललाई पद तथा गोपनीयाको सपथ ग्रहण गराएका छन् । योसँगै अब गोल्छा महासंघको निवर्तमान अध्यक्ष बनेका छन् भने यस अघिकी निवर्तमान अध्यक्ष भवानी राणा पुर्वअध्यक्ष बनेकी छन् ।

सपथग्रहणपछि ढकालले आइतबार २ बजेका लागि महासंघ कार्यसमितिको पहिलो बैठक आह्वान गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघमा दुई कार्यकाल कार्यकारिणी समिति सदस्यको रुपमा काम गरेका ढकाल लगानी समिति, रोजगारदाता परिषद्को सभापति, एसोसिएट उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्ष बनेका थिए ।

कार्गो व्यवसायबाट व्यवसायिक यात्रा सुरु गरेका ढकालले रेमिट्यान्समा आफुलाई स्थापित गराउँदै आइएमई ग्रुपका संस्थापक अध्यक्ष बन्दा ४० वर्ष समय व्यतित गरेका छन् ।

विसं २०२२ सालमा बागलुङको अमलाचौरमा जन्मिएका ढकालले विसं २०४५ बाट आफ्नो व्यवसायिक यात्रा सुरु गरेका हुन् । २०४८ मा कार्गो कम्पनी हुँदै २०५७ मा आइएमई रेमिट स्थापना गरेर ढकालले व्यवसायिक यात्रा बिस्तार गरेका थिए ।

बैंकिङ, रेमिट, सूचना प्रविधि, सञ्चार, व्यापार, ऊर्जा, पर्यटन, होटल तथा रिसोर्ट, अटोमोबाइल, बीमा, खेलकुद जस्ता क्षेत्रमा ढकालले आफ्नो लगानी बिस्तार गरिरहेका छन् ।हाल ग्लोबल आईएमई बैंकको अध्यक्ष समेत रहेका ढकालको आइएमई लिमिटेड, आइएमई जनरल इन्स्योरेन्स, आइएमई डिजीटल सोलुसन्स, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, हिमालय पावर पार्टनर, माउन्टेन इनर्जी, चन्द्रागिरि हिल्स, आइएमई मोटर्स, डिस मिडिया नेटवर्क जस्ता व्यवसायिक प्रतिष्ठानमा आफ्नो ग्रुपमार्फत हिस्सेदारी गरेका छन् ।

ढकाल नेतृत्वको आइएमई ग्रुपले २० हजार जना भन्दा बढी प्रत्यक्ष र ४० हजार जना भन्दा बढीको संख्यामा अप्रत्यक्ष रोजगारी दिन सफल भएको छ ।

नेपाल सरकारबाट प्रदान गरिने प्रतिष्ठित सुकीर्तिमय राष्ट्रदीप, गोरखा दक्षिण बाहु चौथो र प्रबल जनसेवाश्री चौथो लगायतका मानपदवीबाट ढकालले सम्मान पाएका छन् ।

महासंघको नव–निर्वाचित अध्यक्षको रुपमा ढकालले उद्योगी व्यवसायीहरुको मनोबल उच्च बनाउदै अर्थतन्त्रमा निजी क्षेत्रको योगदान वृद्धि गर्ने, सार्वजनिक–निजी साझेदारीको प्रवद्र्धन गर्ने तथा स्वदेशी–विदेशी लगानी पर्वद्धन सँगसगै निजी क्षेत्रको सम्मान वृद्धि गर्ने एजेण्डालाई मुख्य प्राथमिकतामा राखेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।