चालु आर्थिक वर्षको चैत महिनामा मुलुकमा भित्रिने प्रत्यक्ष वैदेशिक लगानी १९.४५ प्रतिशतले घटेको छ । विश्वमा देखिएको आर्थिक सुस्तताका कारण लानीकर्ताले लगानी विस्तार भन्दा पनि लागत कम गर्न तर्फ ध्यान दिँदा प्रत्यक्ष बैदेशिक लगानी आप्रबाह घटेको हो ।
उद्योग विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षको ९ महिनाको तुलनामा चालु आवको सोही अवधिमा प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ८० करोडले घटेको छ । चालु आवको नौ महिनासम्ममा उद्योग विभागबाट १९२ परियोजनाहरुमा कुल २८ अर्ब ११ करोड १८ लाख प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएको छ । गत आवको सोही अवधिमा ३४ अर्ब ९२ करोड ८६ लाख बराबरको प्रत्यक्ष वैदेशिक लगानीका परियोजना भित्रिएका थिए ।
चालु आवको चैत्र महिनामा उद्योग विभागले ७ अर्ब ५५ करोड १८ लाख प्रत्यक्ष वैदेशिक लगानी मार्फत निर्माण हुने ३३ परियोजना स्वीकृत गरेको छ । विभागले प्रत्यक्ष वैदेशिक लगानीमै स्थापना भएका १० कम्पनीहरुको सेयर खरिद सम्झौता स्वीकृत गरेको हो भने १ अर्ब ३५ करोड ९४ लाख ६४ हजार ६९० रुपैयाँ बराबरको सेयर लगानी सम्झौतालाई स्वीकृत गेको हो ।
चैत्र महिनामा विभागले स्वीकृत गरेका ३३ परियोजनाबाट १ हजार ४ सय ४९ जनाले रोजगारीको अवसर प्राप्त गर्नेछन् । यस्तै ३३ परियोजना मध्येका ३२ परियोजना साना तथा घरेलु उद्योग परियोजना रहेका छन् भने १ परियोजना ठूला उद्योगमा समावेश रहेको छ । स्वीकृत औद्योगिक परियोजना मध्येमा १६.४९ प्रतिशत सर्भिस क्षेत्र, ९.२७ प्रतिशत पर्यटन, ४.१२ प्रतिशत उत्पादन क्षेत्र, २.६ प्रतिशत पूर्वाधार, १.३ प्रतिशत आइटी तथा संचार र १.३ प्रतिशत परियोजना कृषि क्षेत्रमा आधारित रहेका छन् ।
यस्तै चैत्र महिनामा व्यवसायिक भिसा मार्फत १६६ लगानीकर्ता, ४५ प्रतिनिधि र १४२ आश्रित लगानीकर्ता नेपाल आएका छन् । त्यसैगरी विज्ञापनका लागि १२ र प्रविधि हस्तान्तरण सम्झौताका लागि ५ वटा गैर–पर्यटकीय भिसा प्रदान भएको विभागले जनाएको छ । चालु आवको साउनदेखि चैत्र महिनासम्ममा १ हजार २२४ लगानीकर्ता नेपाल आएका छन् ।
चैत्र महिनामा मात्रै वैदेशिक लगानीकर्ताहरुले ३ अर्ब १४ करोड ५३ लाख बराबरको लाभांश फिर्ता लगेका छन् । चालु आवको साउन देखि चैत्र महिनासम्ममा विदेशी लगानीकर्ताहरुले कुल १३ अर्ब ७७ करोड ४४ लाख बराबरको लाभांश फिर्ता लगेको विभागले जनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया