मीटरब्याज पीडितहरूले न्याय नपाए किसान महासंघले संघर्षको आँधीबेहेरी सिर्जना गर्ने

0
Shares

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले मीटरब्याज पीडितहरूले न्यान नपाए संघर्षको आँधीबेहरी सिर्जना गर्ने र पीडितहरूलाई न्याय दिलाइ छाड्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

महासंघका अध्यक्ष चित्रबहादुर श्रेष्ठले. सरकारले जनचाहना अनुसार अत्याचारी मीटरब्याजीहरू र नाफाखोर लघुवित्तहरूलाई कारबाही गरी पीडित जनतालाई न्याय दिलाउन असफल भएमा महासंघले न्याय दिलाउने बताएका हुन् । महासंघले.लघुवित्तहरूबाट पीडित जनताले देशव्यापी घोषणा गरेको संघर्षमा पुनः ऐक्यबद्धता प्रकट गर्दै संघर्षरत जनतासँग तत्काल वार्ता गरी समस्या समाधान गर्न नेपाल सरकारसँग जोड्दार माग गरेको छ ।

मीटरब्याज र तमसुक व्यवस्था पीडित जनतासँग २०७९ चैत १८ गते नेपाल सरकारले गरेको ५ बुँदे सम्झौता अक्षरशः इमानदारितापूर्वक कार्यान्वयन गर्दै जनतालाई अनुभूति हुने गरी यथाशीघ्र न्याय प्रदान गर्न आग्रह महासंघले गरेको छ । साथै सो सम्बन्धमा नेपाल सरकार तथा सम्बन्धित निकायहरूले गरेका कार्यहरूको विवरण निरन्तर सार्वजनिक गरी जनतालाई सुसूचित गर्न समेत माग गरेको छ ।

सरकारले २०७९ चैत १४ गते नेपाल सरकार, मन्त्रिपरिषद्ले मीटरब्याजलाई गैरकानुनी घोषणा गर्दै मीटर–ब्याजीहरूलाई कानुनी दायरामा ल्याउन विधेयक मस्यौदा गर्ने निर्णय गरेको र विधेयक मस्यौदाको प्रक्रियामा रहेको छ । मीटरब्याज पीडितहरूसँग प्रधानमन्त्री स्वयंले भेटघाट तथ छलफल गरी पीडितका समस्याबारे गहिरो चासोसहित सम्बोधनको प्रतिबद्धता जाहेर गरेको, गृहमन्त्रीको उपस्थितिमा २०७९ चैत १७ गते मीटरब्याज पीडितहरूसँग नेपाल सरकारले ५ बुँदे सम्झौता गरेको छ । यसरी सम्झौता कार्यान्वयनमा अग्रसरता देखाउँदै मीटरब्याज पीडितहरूको समस्या द्रुत गतिमा समाधान गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा ३ महिनाको समय दिई आयोग गठन गरेको अवस्था छ ।

गृहमन्त्रीको आदेशबिना अनावश्यक शक्ति प्रयोग गरी जनतामाथि दमन गर्ने प्रहरी अधिकारीहरूलाई अविलम्ब निलम्बन गरी विभागीय कारबाही चलाउन समेत महासंघले माग गरेको छ । बैशाख ३ गते लघुवित्त पीडितहरूको संघर्षको क्रममा चितवनको मुग्लिनमा र मीटरब्याज पीडितहरूको संघर्ष क्रममा दमन भएको थियो । जनताले आफ्ना समस्याहरूबारे संघर्ष गर्न पाउने अधिकारलाई सम्मान गर्न र अनावश्यक बल प्रयोग नगर्न नेपाल सरकारसँग संघले माग गरेको छ । साथै, प्रहरी दमनबाट घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घाइतेहरूको स्वास्थ्योपचारको व्यवस्था गर्न नेपाल सरकारसँग जोडदार माग गरेको छ ।

महासंघले मीटरब्याज पीडितहरूलाई न्याय दिन तदारुकताका साथ कारबाही अघि बढाएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र मन्त्रिपरिषद्लाई धन्यवाद दिँदै संघर्षरत जनसमुदायलाई धैर्यता अपनाउन र जिम्मेवार बन्न आग्रह गरेको छ । उसले गरीब किसान र पीडित जनताको संघर्षलाई घुसपैठबाट जोगाउन र एकताबद्ध हुँदै अघि बढ्न अपिल गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।