रावा इनर्जीको आईपीओ बाँडफाँड आज, ६४ हजार ३६६ सेयरधनी थपिँदै

0
Shares

रावा इनर्जी पावर डेभलपमेन्ट लिमिटेडको आईपीओ आज मंगलबार बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धकका अनुसार प्रभु क्यापिटल कमलादीमा अपराह्न ४ बजे बाँडफाँड हुँदैछ । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम हुने बाँडफाँडबाट कम्पनीमा आज ६४ हजार ३६६ जना सेयरधनी थप हुनेछन् ।

मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । जसमा ६४ हजार ३६६ आवेदकलाई १० कित्ताका दर ६ लाख ४३ हजार ६६० कित्ता सेयर बाँडफाँड हुनेछ । यसरी बाँडफाँड गरी बाँकी रहेको ७ कित्ता सेयर तिनै गोलाप्रथाबाट सेयर पाउने आवेदकमध्ये भाग्यमानी ७ जनालाई थप १–१ कित्ता वितरण गरिने छ । यसो हुँदा ७ जनाले ११ कित्ताका दरले र ६४ हजार ३५९ जना आवेदकले १० कित्ता हात पार्नेछन् ।

आईपीओमा अन्तिम दिनसम्म मागभन्दा १९.८२ गुणा बढी ११ लाख ६५ हजार ५२६ आवेदकबाट १ करोड २७ लाख ६१ हजार ४८० कित्ता सेयर माग भएको तथ्याङ्क छ । यस आधारमा ११ लाख बढीको हात खाली हुनेछ ।

कम्पनीले जेठ १८ देखि २२ गतेसम्म ६ लाख ४३ हजार ६६७ कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरेको थियो ।

रेटिङ एजेन्सी केयर नेपालले रावाको आईपीओलाई ‘केयर एनपी इस्यूअर रेटिङ डबल बी रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्छ ।

कम्पनीले खोटाङ्ग जिल्लाको केपिलासगढी गाउँपालिकामा अवस्थित रावा खोलामा ३ मेगावाट क्षमताको आयोजना निर्माण कार्य सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ । त्यस्तै रावा खोलामा नै २.५ मेगावाटको अर्को आयोजना निर्माण गरिरहेको छ ।

रावा इनर्जीको आईपीओ मंगलबार दिउँसो बाँडफाँड हुने, कतिले पाउँछन् ?

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।