आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको चुक्ता पुँजीको १५० प्रतिशत हकप्रद नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड मार्फत निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।
कम्पनीको सञ्चालक समितिको निर्णयानुसार हकप्रद निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा तथा आफ्नो सेयर रजिष्ट्रारको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई नियुक्त गरेको हो ।
नबिल इन्भेष्टमेन्ट र आँखुखोलाबीच सेयर निष्काशन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । सम्झौतापत्रमा आँखुखोलाको तर्फबाट अध्यक्ष राम श्रेष्ठ तथा सेयर रजिष्ट्रारका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रतिक्षा शर्मा र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीबीच हस्ताक्षर सम्पन्न गरिएको छ ।
काठमाण्डौंबाट करिब १३२ किलोमिटर टाढा धादिङ्ग जिल्लामा अवस्थित आँखुखोला बुढीगण्डकी नदीको प्रमुख सहायक नदीहरु मध्ये एक हो । आँखुखोलाको क्याचमेन्ट क्षेत्र करिब ६३३ किलोमिटर छ । औसत वार्षिक प्रवाह ५८.३८ क्युमेक अनुमान गरिएको छ । ३४.५ क्युमेकको डिस्चार्ज ४० प्रतिशत भन्दा बढी सम्भाव्यता भएको मानिएको छ । कम्पनीको विद्युत उत्पादन क्षमता ८.४ मेगावाट रहेको छ र उक्त उत्पादित विद्युतलाई राष्ट्रिय प्रसारणमा जडान गरिएको छ ।
आज भएको उक्त सम्झौतामा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले आँखुखोला जलविद्युत कम्पनी लिमिटेडका सेयरधनीहरुलाई हकप्रद सेयर निष्काशन सम्बन्धि कार्यका लागि आवश्यक पूर्वतयारीमा रहेको जनाएको छ । पूर्वतयारी सम्पन्न भएपछि नियामक निकायहरुबाट हकप्रद शेयर निष्काशनका लागि अनुमति माग गरिने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया