अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गोलाप्रथाबाट सेयर प्राप्त गरेका सम्बन्धीत सेयरधनीको हितग्राही खाता (डिम्याट) मा जम्मा भएको छ ।
साउन २९ गते सोमबार बाँडफाँड भएको कम्पनीको सेयर एक महीनाभन्दा ढिला गरी असोज २ गते मंगलबार सेयरधनीको डिम्याट खातामा जम्मा गरिएको हो । कम्पनीको सेयर यूएलएचसी (ULHC) कारोबार संकेतमा जम्मा भएको छ ।
कतिमा खुल्छ पहिलो कारोबार ?
अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको (आईपीओ) पहिलो कारोबारमा नै अधिकतम २९६ रुपैयाँसम्म खुल्ने देखिएको छ । कम्पनीको परिष्कृत वित्तीय विवरणका आधामा यस्तो देखिएको हो ।
कम्पनीको आव २०७८–७९ मा कम्पनीको प्रति सेयर नेटवर्थ ९८ रुपैयाँ ८५ पैसा छ । सोही आधारमा कम्पनीको पहिलो कारोबारको लागि न्यूनतम ९८ रुपैयाँ ८५ पैसादेखि अधिकतम २९६ रुपैयाँ ५५ पैसासम्मको ओपन रेञ्ज पाउने देखिएको छ । नेपाल स्टक एक्सचेन्जले कम्पनीको पहिलो कारोबारको लागि वास्तविक नेटवर्थलाई आधार मानेर न्यूनतम र त्यसको तीन गुणासम्मको अधिकतम कारोबार रेञ्ज तोक्ने गरेको छ । सोही आधारमा ओपनिङ्ग रेञ्ज तोक्ने गरिएको छ ।
कम्पनीको आईपीओ सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचीकृत भएको छ भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकरण प्रक्रियामा छ । नेप्सेमा सेयर सूचीकरण सम्झौता भएको दोस्रो कारोबार दिनदेखि मात्र कम्पनीको सेयर धितोपत्रको दोस्रो बजारमा खुला हुने गर्दछ ।
धितोपत्र निष्कासन तथा बाँडबाँड निर्देशिका २०७४ बमोजिम साउन २९ गते बाँडफाँडमा कम्पनीको आईपीओ १ लाख ९५ हजार ३२७ जनाले हात पारेका थिए । कुल आवेदकको १४.३५ प्रतिशतले मात्र आईपीओ पाएका हुन् । बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलका अनुसार १ लाख ९५ हजार ३२७ जना लगानीकर्तामध्ये भाग्यमानी ९ जनाले थप १ कित्ता सहित ११ कित्ताका दरले ९९ कित्ता सेयर हात पार्नेछन् भने १ लाख ९५ हजार ३१८ जनालाई १० कित्ताका दरले १९ लाख ९३ हजार १८० कित्ता सेयर बाँडफाँड गरिएको थियो ।
कम्पनीको आईपीओमा १३ लाख ६१ हजार १५४ जनाले कुल १ करोड ५३ लाख ४७ हजार ४७० कित्ताको लागि १ अर्ब ५३ करोड ४७ लाख ४७ हजार रुपैयाँ बराबरको आवेदन दिएका थिए ।
कम्पनीले साउन १८ गतेदेखि २२ गतेसम्म स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका, कर्मचारी र सामुहिक लगानी कोषलाई छुट्टाएर बाँकी रहेको १९ लाख ५३ हजार २७९ कित्ता सेयरको सार्वजनिक बिक्री खुला गरेको थियो । कम्पनीको आईपीओमा १३ लाख ६१ हजार १५४ जनाले कुल १ करोड ५३ लाख ४७ हजार ४७० कित्ताको लागि १ अर्ब ५३ करोड ४७ लाख ४७ हजार रुपैयाँ बराबरको आवेदन दिएका थिए । यस सार्वजनिक निष्कासनमा मागको तुलनामा ७.२३ गुणा बढी आवेदन परेको थियो ।
कम्पनीले माथिल्लो लोहोरे साना जलविद्युत आयोजनाबाट ४ मेगावट क्षमताको विद्युत उत्पादन गरिरहेको छ । कुल अनुमानित लागत २३ करोड ६८ लाख ४ हजार २५० रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत ९४ करोड ७२ लाख १७ हजार रुपैयाँ रहेको छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.२२ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १७.८४ वर्ष रहेको छ । आयोजनाको विद्युत उत्पादन अनुमति ३१ वर्ष बाँकी रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया