जापानी अर्थतन्त्र सङ्कुचित भएको छ । यसबाट सङ्घर्षरत प्रधानमन्त्री फुमियो किसिदालाई अर्को धक्का लागेको छ ।
विश्वको तेस्रो सबैभन्दा ठूलो जापानको अर्थतन्त्र दोस्रो चौमासिकको तुलनामा जुन र सेप्टेम्बरबीचमा शून्य दशमलव पाँच प्रतिशतले सङ्कुचित भएको प्रारम्भिक आँकडाले देखाएको छ । यो माइनस शून्य दशमलव एक प्रतिशतको सहमति प्रक्षेपणभन्दा खराब हो ।
लगातार कम उपभोक्ता खर्च र वैश्विक अर्थतन्त्रको कमजोरीले जापानको निर्यातमा असर गरेका कारण लगातार दुई त्रैमासिकमा वृद्धिपछि यो गिरावट आएको हो ।
समीक्षा अवधिमा निर्यातमा शून्य दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ । यो अघिल्लो चौमासिकको तीन दशमलव नौ प्रतिशतभन्दा कम हो । त्यस्तै आयातमा एक प्रतिशतले वृद्धि हुँदा समग्र विकासमा प्रभाव परेको छ । निजी आवासीय तथा कर्पोरेट लगानीसहित निजी मागमा शून्य दशमलव छ प्रतिशतले गिरावट आएको छ ।
ब्लुमबर्ग न्युजका अनुसार जापानको अर्थतन्त्र गत वर्षको तेस्रो चौमासिकको तुलनामा यस वर्षको सोही अवधिमा दुई दशमलव एक प्रतिशतले सङ्कुचन भएको छ । बजारको अपेक्षा भने माइनस शून्य दशमलव चार प्रतिशत थियो ।
बढ्दो महँगीले उपभोक्ताहरू त्रसित भएकाले दुई वर्षअघि पदभार सम्हालेपछि प्रधानमन्त्री किसिदाको पोल रेटिङ सबैभन्दा तल्लो तहमा पुगेको छ । उहाँले यसै महिना अर्थतन्त्रलाई बढावा दिन र मुद्रास्फीतिको पीडा कम गर्ने उद्देश्यले एक सय ७० खर्ब येन (एक खर्ब १३ अर्ब २० करोड अमेरिकी डलर) को प्रोत्साहन प्याकेज घोषणा गरे।
कोभिड–१९ को महामारीसँग जुध्न सरकारले पछिल्लो तीन वर्षमा अर्थतन्त्रमा अर्बौं डलर लगानी गरिसकेको छ । पछिल्लो योजनामा प्रतिव्यक्ति ४० हजार येनको आम्दानी र आवासीय कर कटौती तथा कम आम्दानी भएका परिवारलाई ७० हजार नगद हस्तान्तर गरिने व्यवस्था गरिएको छ ।
अन्तर्राष्ट्रिय मुद्राकोषको अनुमानअनुसार आंशिकरूपमा येनको गिरावटका कारण जर्मनी यो वर्ष जापानलाई उछिनेर विश्वको सबैभन्दा तेस्रो ठूलो अर्थतन्त्र बन्न तयार छ । यद्यपि जर्मनीको अर्थतन्त्र पनि यो वर्ष कमजोर भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया