कोमेसा र इयु बीच ४८.२ मिलियन युरोको वित्तीय सम्झौतामा हस्ताक्षर

Archana Neupane
0
Shares

पूर्वी र दक्षिणी अफ्रिकाका लागि साझा बजार (कोमेसा) र युरोपेली संघ (इयु) ले सोमबार ४८.२ मिलियन युरो (५३ मिलियन अमेरिकी डलर) दुईवटा वित्तीय सम्झौतामा हस्ताक्षर गरेका छन्।

कोमेसालाई नयाँ अनुदानहरू त्यसका सदस्य राष्ट्रहरूको समग्र व्यापार प्रणालीमा प्रतिस्पर्धात्मकता सुधार गर्न र तिनीहरूको बजार पहुँच बढाउनमा केन्द्रित हुने बताइएको छ ।

कोमेसाका महासचिव चिलेशे कप्वेप्वेले आर्थिक सहयोगका लागि इयुको प्रशंसा गर्दै ती दुई सम्झौताले समग्र प्रतिस्पर्धात्मकता बढाउनमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । कप्वेपवेले अफ्रिकाको सबैभन्दा ठूलो व्यापारिक समूह भित्र आर्थिक विकास, व्यापार सहजीकरण र क्षेत्रीय एकीकरणलाई बृद्धि गर्न व्यापक सहयोगको हिस्सा भएको बताएका छन् ।

मुख्यतया यसको प्राकृतिक स्रोत र कृषि प्रशोधन, कपडा र गार्मेन्टमा यसको सम्भावनासँग जोडिएको यस क्षेत्रको तुलनात्मक लाभको बाबजुद पनि अन्य क्षेत्रको तुलनामा व्यापार न्यून रहेको उनको टिप्पणी रहेको छ । उनले यस क्षेत्रको निजी क्षेत्रलाई प्रतिस्पर्धी बनाउन रणनीतिक लगानीका लागि अपर्याप्त वित्तपोषणका कारण अन्तरक्षेत्रीय व्यापारमा बाधा पुगेको पनि बताएका छन् ।

जाम्बियाका लागि इयु राजदूत र कोमेसाका लागि विशेष प्रतिनिधि क्यारोलिना स्टासियाकले दुई संस्थाहरूले क्षेत्रीय एकीकरण, जडान र व्यापारलाई सहज बनाउन समान उद्देश्यहरू राखेको उल्लेख गरे । स्टासियाकले विश्वव्यापी चुनौतीलाई ध्यानमा राख्दै इयुले व्यापारलाई अझ सहज र दिगो बनाउन आह्वान गरिरहेको बताए ।

‘हामीले हाम्रो अर्थतन्त्रलाई दिगो बनाउन, स्थानीय, क्षेत्रीय र विश्वव्यापी मूल्य शृङ्खलाहरूलाई थप बलियो बनाउँन र जलवायुमा हाम्रो अर्थतन्त्रको नकारात्मक प्रभावलाई उल्लेखनीय रूपमा घटाउन आवश्यक छ,’ उनले उल्लेख गरे ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।