पक्राउ परेका बैंकरहरुलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

Parmeshwor Adhikari
0
Shares

बैंकिङ कसुरको विषयमा अनुसन्धानका लागि भन्दै पक्राउ परेका १० जना बैंकका कर्मचारीहरुलाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

ब्यूरोले सेञ्चुरी बैंकका तत्कालिन प्रमूख कार्यकारी अधिकृत तुलसी गौतम, सोही बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत एवं अहिलेको प्रभू बैंकका डेपुटि प्रमूख कार्यकारी अधिकृत मनोज न्यौपाने सहित १० बैंकरलाई पक्राउ गरेको थियो ।

फागुन १५ गते नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोले पक्राउ गरेका उनीहरुलाई पहिलो पटक ७ दिन हिरासतमा राख्न अदालतले दिएको म्याद सोमबार सकिएको थियो । बयान लिने काम पूरा नभए पछि उनीहरुलाई थप ७ दिन हिरासतमा राख्न उच्च अदालत पाटनले अनुमति दिएको हो ।

यस अघि अनुसन्धान व्यूरोका प्रवक्ता होविन्द्र बोगटीले बयान लिने काम भइरहेको र म्याद थप हुने बताएका थिए । गौतमको नतृत्वमा बैंकले सहकारीका अध्यक्ष रविन्द्र चौँलागाईलाई धितो मूल्याङ्कनभन्दा धेरै कर्जा दिएको भेटिएपछि सम्बन्धित व्यक्तिहरुलाई पनि अनुसन्धानका लागि व्यूरोले पक्राउ गरेको थियो ।

सहकारी ठगीको अनुसन्धान बैंकरसम्म, सहकार्यका लागि राष्ट्र बैंकलाई सीआइबीको पत्र

अर्बौंको कारोबार भएको बैंक विवरण जुटाउनेदेखि अध्ययन तथा अन्य प्रमाण जुटाउनु पर्ने भएकाले अनुसन्धानमा थप समय लागेकाले म्याद थप गरिएको व्यूरोले जनाएको छ ।

गौतमको नेतृत्वमा बैंकले सहकारीका अध्यक्ष रविन्द्र चौँलागाईलाई धितो मूल्याङ्कनभन्दा धेरै कर्जा दिएको भेटिएपछि सम्बन्धित व्यक्तिहरुलाई पक्राउ गरेको थियो । बैंकर गौतम र न्यौपाने सहितका तत्कालीन सेञ्चुरी बैंकका कर्मचारीले चौँलागाईलाई एक अर्ब १४ करोडको मूल्याङ्कन भएको धितोमा दुई अर्ब ११ करोड कर्जा दिएको भेटेपछि व्युरोले अनुसन्धानका लागि उनीहरुलाई नियन्त्रणमा लिएको हो । उक्त कर्जा चौँलागाई संलग्न भएका पुजा ट्रेडिङ एण्ड मार्केटिङ, थ्री ब्रदर्स मार्केटिङ, पुजा मार्केटिङ, र अन्नपुर्ण डिस्टिलरीमा प्रवाह भएको ब्यूरोले जनाएको छ । गत कात्तिक १७ गते पक्राउ परेका चौलागाई अदालतको आदेशपछि अहिले थुनामा छन् ।

बैंकरहरु पक्राउ परेपछि सम्पुर्ण निजी क्षेत्रले एकस्वर गर्दै विरोध गरेका छन् । बैंकरहरु पनि केन्द्रीय अनुसन्धान ब्यूरोदेखि गृह मन्त्रालयसम्म पुगेको अवस्था छ । बैंकर तथा व्यवसायीले थुनामै राखेर भन्दा पनि गलत गरेको पुष्टि नहुँदासम्म बाहिर नै राखेर अनुसन्धान गर्न माग गर्दै आएका छन् । तत्कालीन सेञ्चुरी बैंकबाट प्रपाह भएको ऋणका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको हो ।

सेञ्चुरी र प्रभु मर्जर भएर प्रभु बैंक बनेसँगै सेञ्चुरीको अस्तित्व समाप्त भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।