भारतले नेपाललाई दिने अनुदान ३३ प्रतिशतले कटौती

0
Shares

भारतले चालू आर्थिक वर्षका लागि नेपाललाई दिने अनुदानमा ३३ प्रतिशतले कटौती गरेको छ ।

भारतीय अर्थमन्त्री निर्मला सीतारमणद्वारा शनिबार संसदमा पेश गरिएको बजेटमा नेपाललाइ दिइने अनुदान घटाएर ८ अर्ब भारुमा झारिएको छ ।

गत वर्ष २०१९/२० को मध्यावधि बजेटमा भारतले नेपालका लागि १२ अर्ब भारु सहयोग स्वीकृत गरेको थियो ।

नेपालस्थित भारतीय राजदूतावासमार्फत सोझै र नेपाल सरकारमार्फत भारतीय अनुदानका विभिन्न आयोजनाहरू सञ्चालन हुने गरेका छन् ।

नेपाललाई दिइने सहयोग घटाएको भारतले भुटानलाई दिने अनुदान भने ८ प्रतिशतले बढाएको छ ।

कुल बजेट ३०.४२ ट्रिलियन रूपैँया

भारतको केन्द्र सरकारले शनिबार ३०.४२ ट्रिलियन भारतीय रूपैँयाको वार्षिक वजेट सार्वजनिक गरेको छ । सरकारले आफ्नो प्रतिवद्धता अनुसार गुणस्तरीय जीवन र मुलुकको आर्थिक सुधारलाई लक्षित गरी बजेट सार्वजनिक गरेको बताएको छ ।

त्यसैगरी अप्रिल १ बाट सुरू हुने बजेटको आम्दानी २२.४६ ट्रिलियन हुने प्रक्षेपण सरकारले गरेको छ । केन्द्र सरकारले लगानी अभिवृद्धिका लागि राजस्व सङ्कलनमा महत्वपूर्ण कदम चालेको दावी गरेको छ । तर प्रक्षेपित कर सङ्कलन सकारात्मक लयमा आउनका लागि केही समय लाग्ने अनुमान सरकारले गरेको छ ।

आर्थिक वर्ष २०२०/०२१ का लागि सरकारले लिने ऋणको धेरै अंश भने पूँजीगत खर्चमा प्रयोग गरिनेछ । सरकारले पूँजीगत खर्च २१ प्रतिशतले बढ्ने अनुमान गरेको छ । केन्द्र सरकारका अर्थमन्त्री निर्मला सितारमणले सरकारले आर्थिक वृद्धिका लागि विभिन्न आधारहरू तय गरेको बजेट सम्वोधनमा बताइन ।

जारी परिस्थितिको आधारमा सरकारले आर्थिक वर्ष २०२०/०२१ का लागि कुल ग्राहस्थ उत्पादनको १० प्रतिशत वृद्धि रहने अनुमान गरेको छ । सरकारको संशोधित अनुमान अनुसार चालु आर्थिक वर्षको खर्च २६.९९ ट्रिलियन भारतीय रूपैँया र सरकारी आय १९.३२ ट्रिलियन रहने छ ।