बजेटमा लुम्बिनी : बुटवलमा ‘आइटी पार्क’देखि, ‘बर्थिङ हब’ सम्म

Archana Neupane
0
Shares

सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१\८२ को बजेटमा लुम्बिनी प्रदेशका लागि केही पुराना योजनाको निरन्तरता र नयाँ योजना घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका निजी क्षेत्रले प्रस्तुत बजेट सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । बजेटको प्रभावकारिता कार्यान्वयनको प्रक्रियामा निर्भर रहने निजी क्षेत्रको भनाइ रहेको छ ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आव २०८१\८२ का लागि प्रस्तुत गरेको बजेटमा बुद्ध जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय स्तरमा ‘बर्थिङ हब’ को रुपमा विकास गरिने उल्लेख गरिएको छ । अर्थमन्त्री पुनले बजेटमै समेटेर अगाडि बढाउने घोषणा गरेका छन् ।

बुद्ध जन्मस्थल लुम्बिनीलाई बौद्ध धर्मालम्बिहरुले आस्थाको केन्द्र मान्ने भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट लुम्बिनीमा बुद्ध धर्मालम्बि भित्र्याएर ‘बर्थिङ हब’ को विकास गरिने घोषणा गरिएको छ । त्यसैगरी रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र र बाँकेको नौवस्ता औद्योगिक क्षेत्र चलाउने कार्यक्रम बजेटमा समेटिएको छ । यसअघि पनि यी दुवै स्थानमा औद्योगिक क्षेत्र सञ्चालन गर्न शिलन्यास गरिएको थियो ।

त्यसैगरी यस क्षेत्रको मुख्य राजमार्गको रुपमा रहेको बुटवल–गोरुसिङ्गे र भालुवाङ लमही राजमार्ग स्तरोन्नतिका लागि बजेटले समेटेको छ । बाँकेको राझा र दाङको टरिगाउँ विमानस्थल स्तरोउन्नति बजेट राखिएको छ । लुम्बिनी प्रदेशमा भैरहवा र नेपालगन्जमा मात्रै नियमित उडान भइरहेको छ ।

रुपन्देही, कपिलवस्तु र नवलपरासीका क्षेत्रलाई समेटेर बुद्ध परिपथ विस्तार गरिने योजना बजेटमा समेटिएको छ । त्यसैगरी सिक्टा सिँचाइ आयोजना विस्तारका लागि एक अर्ब ६० करोड रुपैयाँ, बबई सिँचाइ आयोजना विस्तार, भेरी बबई डाइभर्सनलाई पनि बजेट समावेश गरिएको छ । बुटवलमा मेडिकल कलेज सञ्चालन गर्ने प्रक्रिया बढाउने विषय उल्लेख छ ।

मंगलबार प्रस्तुत बजेटमा बुटवलमा आईटी पार्क निर्माण गरिने घोषणा गरिएको छ । बजेटमा आइटी पार्कका लागि काठमाण्डौंसँगै बुटवलका सरकारी तथा निजी भवन उपोयोग गरी पार्कमा ‘वर्क स्टेशन’ सञ्चालन गर्न निःशुल्क स्थान उपलब्ध गराइने घोषणा गरिएको छ । बजेटमा सरकारी तथा निजी भवन उपयोग गरि आईटी पार्कमा उच्च गतिको इन्टरनेट, विद्युत, सुरक्षालगायतका पूर्वाधारहरुको विकास गरी सूचना प्रविधि पार्कको काम अगाडि बढाइने उल्लेख गरिएको छ ।

लुम्बिनी प्रदेशलाई साना तथा मझौला उद्यमको ‘हब’ बनाउने भनिएको छ । अर्थमन्त्री पुनले आउँदो आर्थिक वर्षमा प्रत्येक प्रदेशलाई फरक आर्थिक ‘हब’का रूपमा विकास गर्ने घोषणा अनुरुप लुम्बिनीलाई साना तथा मझौला उद्यमको ‘हब’ बनाउने घोषणा गरेका हुन् ।

लुम्बिनी प्रदेशमा कृष्ण सेन इच्छुक संचारग्राम बनाउने घोषणा भएको छ । सालझण्डी–ढोरपाटन सडक स्तरोन्नति गर्ने, भैरहवा एकीकृत जाँच चौकीमा सुरक्षा बन्दरगाहा निर्माण सुरु गरिने, सिद्धबाबा सुरुङमार्ग निरन्तरता, बुटवल–गोरखपुर ४ सय केभी प्रशारण लाइन सुरु गरिने योजना बजेटमा उल्लेख गरिएका छन् ।

नारायणी र तिनाउमा सिग्नेचर पुल निर्माण दुई अर्ब ४६ करोड रकम बिनियोजन भएको छ । नारायणीमा पुलको शिलान्यास भएपनि तिनाउमा सुरु भएको छैन । एकीकृत विकासको अवधारणाअनुसार नमुना विकास अभियान सञ्चालन गर्न भरतपुर–बुटवल–पोखरा–भरतपुरलाई तीनवटा कोणमा राखी गण्डकी आर्थिक त्रिभूज परियोजना सञ्चालन गरिने घोषणा गरिएको छ ।

यस परियोजनाअन्तर्गत निजी क्षेत्रसँगको साझेदारीमा औद्योगिक ‘इकोसिस्टम’ निर्माण गरी औद्योगिक पुनरुत्थान र गुणस्तरीय रोजगारी सिर्जना गरिने, गण्डकी त्रिभुजमा पर्ने निर्माणाधीन नारायणगढ–बुटवल र मुग्लिन–पोखरा सडकखण्डको विस्तार कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने, बुटवल–पोखरा सडकलाई डेडिकेटेड दुई लेनमा विस्तार गरिने, त्रिभुजका तीनवटै करिडोरमा औद्योगिक विकासका लागि आवश्यक यातायात सञ्जाल विकास गरिने बजेट वक्तव्यमा समेटिएको छ ।

बजेटका बिषयमा नेपाल चेम्बर अफ कमर्शका लुम्बिनी प्रदेश अध्यक्ष टङ्कप्रसाद पोखरेलले बजेट सन्तोषजनक रहेपनि कार्यान्वयनमा चुनौती रहेको बताए । उनले समग्रमा बजेट दबाबमा आएको भएपनि निजी क्षेत्रलाई चिढ्याउने खालको नरहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश संयोजक कृष्ण शर्माले बजेट सकारात्मक भएपनि कार्यान्वयनमा चुनौती रहेको बताए । उनले अहिलेको बजेट पनि परम्परागत रहेकाले निजी क्षेत्रलाई उत्साहित बनाउने गरी नआएको बताए। उनले बजेटको पूर्णपाठ आएपछि समग्रमा समिक्षा गर्न सकिने बताउँदै लुम्बिनीको पर्यटन विकासका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि बजेटले स्पष्ट योजना नल्याएको बताए।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।