विश्वभरी फैलिरहेको कोरोना भाइरसको त्रासले निरन्तर ओरोलो लागेको भारतीय शेयर बजारका लगानीकर्ताको मनोबल झनै कमजोर बन्दै गएको छ।
कोरोना महामारी नियन्त्रणमा आउन अझै समय लाग्ने देखिएपछि बुधबार लगानीकर्ताको मनोबल झनै कमजोर भएको हो।
पछिल्लो समयमा निरन्तर घटेको भारतीय शेयर बजार कोरोनाका कारणले अस्वभाविक रुपमा घट्न थालेको हो। बुधबार मात्र भारतीय शेयर बजार परिसूचक सेन्सेक्स १ हजार ७०९ अंकले घटेको छ भने निफ्टी ४२५ अंकले घटेको हो।
शेयर बजारमा अस्वभाविक गिरावट आएपछि सूचीकृत कम्पनीहरुले शेयर ‘बाइ ब्याक’ गर्ने निर्णय गर्दा समेत सुधारको संकेत नदेखिएको हो। शेयर लगानीकर्तालाई राहत दिलाउने उद्देश्य अनुरुप सूचीकृत कम्पनीले सर्वसाधारणलाई बिक्री गरिसकेको शेयर कम्पनीले स्वयंले खरीद गर्ने निर्णय गरेका हुन्। त्यसले समेत लगानीकर्ताको मनोबल बलियो बनाउन नसकेको हो।
बुधबार मात्र बम्बई स्टक एक्सचेञ्ज परिसूचक सेन्सेक्स १ हजार ७०९ दशमलव ५८ अंकले घटेको छ भने नेशनल स्टक एक्सचेन्ज परिसूचक निफ्टी ४२५ दशमलव ५५ अंकले घटेको छ।
बुधबार कारोबारको पहिलो चरणमा सकारात्मक देखिएको भएपनि त्यो सुधारको गति धेरै समय टिक्न सकेन। बुधबार सेन्सेन्स १ हजार ७०९ दशमलव ५५ अंकले घटेर २८ हजार ८६९ दशमलव ५१ अंकमा पुगेको छ भने निफ्टी ४२५ दशमलव ५५ अंकले घटेर ८ हजार ५४१ दशमलव ५० अंकमा झरेको छ। बुधबार सेन्सेक्समा सूचीकृत ३० कम्पनीमध्ये धेरैको शेयरमूल्य घटेको छ।
प्रतिक्रिया