दक्षिण कोरियाको समुद्रपारको प्रत्यक्ष लगानी सन् २०१९ मा ६० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि भएको शुक्रबार सरकारद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख छ।
“दक्षिण कोरियाका घरेलु कम्पनीले सन् २०१९ मा ६१ अर्ब ८५ करोड अमेरिकी डलर लगानी गरेका थिए र यो अघिल्लो वर्षको तुलनामा २१ प्रतिशतले बढी हो,” अर्थव्यवस्था तथा वित्तीय मन्त्रालयद्वारा दिइएको तथ्याङ्कमा उल्लेख छ ।
लगानीबारे तथ्याङ्क राख्न सुरू गरेको वर्ष सन् १९८० पछि यो लागानीमा सबैभन्दा बढी वृद्धि हो ।
दक्षिण कोरियाको समुद्रपार भएको प्रत्यक्ष लगानी पछिल्ला वर्षहरूमा तीब्र बढ्ने क्रम रहेको छ । समुद्रपार लगानीमा सन् २०१५ मा पहिलो पटक ३० अर्ब अमेरिकी डलरको उल्लेख्य वृद्धि भएको थियो भने सन् २०१७ मा यो रकम ४० अर्ब डलर र सन् २०१८ मा ५० अर्ब डलर पुगेको थियो ।
तर स्वदेशभित्रको लगानीमा भने कोरियाली कम्पनीको लगानी दरमा न्यूनता देखिएको छ । स्थानीय कम्पनीहरूले आफ्नो पूँजीगत खर्चलाई सन् २०१८ को तुलनामा सन् २०१९ मा ७.६ प्रतिशतले घटाएका मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । यो विगत दश वर्षको तुलनामा भारी गिरावट हो ।
समुद्रपारमा वित्तीय तथा बिमा क्षेत्रमा कूल ४०.५ प्रतिशत रहेको छ भने निर्माण उद्योगमा २९.७ प्रतिशत र रियल स्टेटको क्षेत्रमा ११.२ प्रतिशत रहेको छ ।
क्षेत्रगतरूपमा हेर्दा गत वर्ष दक्षिण कोरियाको एशियाली अन्य मुलुकमा ३२.२ प्रतिशत लगानी रहेको थियो । त्यस्तै उत्तर–अमेरिकामा २५.८ प्रतिशत, यूरोपमा २१.९ प्रतिशत र ल्याटिन अमेरिकामा १६.६ प्रतिशत रहेको सरकारी तथ्याङ्कमा उल्लेख छ ।
प्रतिक्रिया